धरान । झापा कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको ज्यान गएको वडाध्यक्ष लालबहादुर विष्टले जानकारी दिए । छिमेकीको घरमा सुतिरहेको बेला मध्यराति हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष विष्टले जानकारी दिए ।

लिम्बू परिवार केही वर्षदेखि रतुवा–माई वृक्षरोपण आयोजनाको जङ्गल हातामा कटेरो बनाई बस्दै आएका थिए । वर्ष दिनअघि सोही बस्तीमा हात्तीको आक्रमणमा परेर ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको थियो ।

यस्तै शिवसताक्षीमा तीन दिनअघि हात्तीले आक्रमण गर्दा शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो भने उनका श्रीमान् ६२ वर्षीय दिलिप भेटवाल गम्भीर घाइते भएका छन् । यस वर्ष हात्तीको आक्रमणबाट झापामा सातजनाको मृत्यु भइसकेको छ भने सातजना घाइते भएका डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् ।