विजयपुर । सुनसरीबाट कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूको सम्पर्क कार्यालय धरानमा स्थापना गरिएको छ ।

सुनसरी क्षेत्र नम्बर १ (क) र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, विजयकुमार राई र यशोदा कायस्थको सम्पर्क कार्यालय शनिबार उद्घाटन गरिएको हो । संविधानसभा सदस्य कृष्णकुमार राई, किरण राईलगायतले धरान–७ मा सम्पर्क कार्यालयको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य किरण राईले नेपालको राजनीतिक अवस्था अत्यन्तै अस्थिर रहेको बताए । उनले जनताको अधिकार, जनभावना र परिवेशअनुसार व्यवस्था परिवर्तन भए पनि नेताहरू कर्तव्यनिष्ठ नहुँदा मुलुकमा समस्या भइरहेको बताए ।

कोशी प्रदेशसभा सदस्य बस्नेतले जनप्रतिनिधिको भूमिका दलभन्दा माथि हुनुपर्ने बताए । नागरिकका भावना अनुरूप काम गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरिएको बताए ।

उनले भने, ‘जनगुनासो सुन्न र काम गर्न प्रत्येक दिन २ घण्टा सम्पर्क कार्यालयमा बस्छौँ ।’ उनका अनुसार एकठाउँमा बसेर छलफल गर्ने ठाउँ नभएकाले कार्यालयको उद्घाटन गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेस धरानका सभापति श्याम पोखरेलले धरानमा भड्किएको समाजलाई सुधार्न प्रदेशसभा सदस्यहरूको ध्यानाकर्षण गराए । उनले जातीय, धार्मिक, सामाजिक, सांस्कृतिक रूपमा एकताबद्ध भए पनि धरानका नेतृत्वले नै जातीय सद्भाव भड्काउन खोजिरहेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य कृष्णकुमार राई, मीना सुब्बा, कोशी प्रदेशका निवर्तमान सभामुख प्रदीपकुमार भण्डारी, प्रदेशसभा सदस्य उमिता बराइली, सावित्री श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।