कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धरानलाई पानी दान गर्ने सहर बनाउने इच्छा भएको बताएका छन् ।

बुधबार भारतीय राजदुतावास, पेन्सन वितरण कार्यालय धरानमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'धरानका लाहुरेलाई पानी खुवाए बचाए, लाहुरेले मुलुकलाई बचाउँछन्।' उनले धरानमा खानेपानी व्यवस्थापनका लागि काम गरिरहेको पनि दाबी गरे ।

लाहुरेको आयआर्जन मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । मुख्यमन्त्री कार्कीले नेपाली सांस्कृतिक पहिचानका साकेला, धान नाच आदि भारतीय सहरमा प्रदर्शनका लागि पहल गर्ने पनि बताए । उनले नेपाल-भारत सम्बन्ध सीमाले छुट्टिए पनि भावनात्मकरूपमा नछुट्टिने बताए।

उनले भने, 'रगतमा बाँधिएको सम्बन्धलाई सिमानाले अलग्याउन सक्दैन ।' भारतीय राजदुतावासको आयोजनामा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्‌को स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शास्त्रीय नृत्य कलाकार ओडिसी लगायत नृत्य प्रस्तुत गरे ।

सांस्कृतिक कार्यक्रममा नेपालको पूर्वेली संस्कृति झल्किने राई जातिको सांस्कृतिक नृत्य साकेला र नेपाली लोकनृत्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा भारतीय राजदुताबास, पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाले नेपाल सरकार भारतीय भूपूहरूप्रति भारत सरकारले सधैं सहयोग गर्ने बताए ।

कार्यक्रममा भारतीय राजदुतावासका राजनीतिक विभागका प्रथम सचिव प्रिया दर्शणी आरले नेपालमा भारतीय सांस्कृतिक नृत्य कलालाई माया र सद्भावको दृष्टिकोणले हेरिने भएको हुनाले सांस्कृतिक नृत्य कार्यक्रम गरेको बताएकी छिन् ।

कार्यक्रममा पूर्व शिक्षा मन्त्री अशोक राई, प्रदेश सरकारका वन तथा पर्यटन वातावरण मन्त्री गणेशप्रसाद उप्रेती, प्रदेश सभा सदस्यद्वय विजयकुमार राई, रमेशकुमार बस्नेत, धरान उपनगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, वडाध्यक्ष तथा पूर्व नगर प्रमुख तिलक राईलगायत प्रहरी प्रमुखहरूको उपस्थिति रहेको थियो ।