इनरुवा । सुनसरी प्रशासनले इनरुवाका सुनचाँदी व्यवसायी उपर थालेको दोहोरो नागरिकता विषयको अनुसन्धानमा लहरो तान्दा पहरो खस्ने सम्भावना देखिएको छ ।

इनरुवामा रहेर व्यवसाय गर्दै आएका १२ जना सुनचाँदी व्यवसायी उपर सुनसरी प्रशासनले थालेको दोहोरो नागरिकताबारेको अनुसन्धान अघि बढ्दै गर्दा छानबिनमा तानिनेको सङ्ख्या बढ्न सक्ने देखिएको हो । उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा सम्बन्धित व्यक्तिसँग लिइएको बयानका क्रममा सनाखत गर्नेहरूको नाम खुलेसँगै उनीहरू उपरसमेत अनुसन्धान तेर्सिने सम्भावना बढेको हो । समाचार फलोअपका क्रममा प्रशासन स्रोत समक्ष बुझ्दा प्रहरीमार्फत् उपस्थित गराई तारेखमा छाडिएका सुनचाँदी व्यवसायीहरूले दिएको बयानमा नागरिकता सनाखत गर्नेमा सरकारी कर्मचारी र पूर्व जनप्रतिनिधिसम्मको नाम ओकलेको पाइएको छ ।

प्रशासन स्रोतबाट प्राप्त जानकारीअनुसार इनरुवा–१ नम्बर वडामा जयलक्ष्मी ज्वेलरी सञ्चालन गर्दै आएका उपेन्द्र स्वर्णकारले सुनसरी प्रशासनमा दिएको बयानमा आफूलाई नेपाली नागरिकता दिलाउनका लागि नेपाल निजामती कर्मचारी सङ्गठन सुनसरीका अध्यक्षसमेत रहेका कर्मचारी चिनेश्वर मेहताले सनाखत गरेको उल्लेख छ । स्वर्णकारले बयानमा भनेका छन्, ‘नेपाली नागरिकता लिनका लागि सोर्स लगाउन र नागरिकताको फारममा सहीछाप गरी सनाखतमा बसेर नागरिकता प्रमाण–पत्र दिलाउन चिनेश्वर मेहताले सहयोग गरेको हो । उनी इनरुवाकै बासिन्दा र सरकारी कर्मचारीसमेत हुन् ।’

यसैगरी शिव ज्वेलरीका सञ्चालक विनोद सोनी र आदर्श ज्वेलरीका सङ्चालक तरुण साहले दिएको बयानमा आफूहरूको नागरिकताको सवालमा सनाखत गर्ने व्यक्तिको वतन विवरणमा २०७४ सालको स्थानीय तह निर्वाचनमा २ नम्बर वडाबाट निर्वाचित तत्कालीन वडाध्यक्ष सुरेन्द्र यादव श्रवणले सनाखत गरेको उल्लेख छ । सुनसरी प्रशासनमा गरेको बयान कागजमा विनोद र तरुणले नेपाली नागरिकता लिने क्रममा आफूहरूलाई सुरेन्द्र यादवले सबै कागजपत्र तयार गर्र्नेदेखि नागरिकता फारममा हस्ताक्षर गरेर कर्मचारीहरू समक्ष सनाखतमा समेत बसेर सहीछाप गरी नेपाली नागरिकता प्रमाण–पत्र दिलाएको उल्लेख गरेको कर्मचारी स्रोतको भनाइ छ ।

उपेन्द्र स्वर्णकार, विनोद सोनी र तरुण साहजस्तै दोहोरो नागरिकतासम्बन्धी उजुरीमा बयान दिएकाहरूले कर्मचारी र जनप्रतिनिधिकै सहयोगमा आफूहरूले नेपाली नागरिकता बनाउन आवश्यक सबै कागज–पत्र तयार पारी पेश गरेको बयान दिएको बताइएको छ । बयानमा उनीहरूले सनाखतमा सम्बन्धित व्यक्तिहरूले सनाखत गरेको भन्दै विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरेको स्रोतको भनाइ छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बयान दिएका अर्जुन सोनीले आफ्नो स्थायी घर, ठेगाना भारतको बिहार राज्य पूर्णिया जिल्ला जानकी नगरमा रहेको समेत बताएको पाइएको छ । उनले कामको सिलसिलामा गणेश ज्वेलरीका सञ्चालक श्रवण सोनीको सुनचाँदी पसलमा काम गर्दै आएको उल्लेख गरेको प्रशासन स्रोतको भनाइ छ ।

अर्जुनले प्रशासनमा गरेको बयानमा आफू भारतीय नागरिक भएको स्वीकार गरेकोे प्रशासन स्रोतले जनाएको छ । यद्यपि उनले किन र कसरी उजुरी परेको हो भन्नेबारे आफू केही पनि बताउन सक्ने अवस्थामा नरहेको व्यहोरासमेत बयानमा उल्लेख गरेको स्रोतको भनाइ छ । उता सनाखतमा नाम मुछिएका कर्मचारी चिनेश्वर मेहता र पूर्व वडाध्यक्ष सुरेन्द्र यादव (श्रवण)ले प्रशासनको छानबिनमा रहेको दोहोरो नागरिकता विषयमा आफूहरूको नाम मुछिएको विषयमा आश्चर्यमा परेको जनाए । कर्मचारी मेहताले सनाखत गरेको भनेर बयान दिने व्यक्तिलाई आफूले नचिन्ने बताए । यादवले भने, ‘कसले आफ्नो नाम कुन उद्देश्यले लियो भन्ने बारेमा आफू अनभिज्ञ छु ।’ उनीहरू दुवैले सुनचाँदी व्यवसायी उपरको दोहोरा नागरिकतासम्बन्धमा कहीँ कतै आफूहरूको संलग्नता नरहेको स्पष्ट पारेका छन् । उनीहरूले उक्त विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

यसैबीच प्रशासन कार्यालयका एक उच्च कर्मचारीबाट प्राप्त सूचनाअनुसार इनरुवाका १२ जना सुनचाँदी व्यवसायी उपर परेको उजुरीका आधारमा कार्यालयले थालेको अनुसन्धानको कार्यलाई यथाशीघ्र छिनोफानो गर्ने गरी तीव्र गतिमा काम भैरहेको छ । सम्भवतः चैत्र महिनाको अन्तिम तारेखमा छानबिनको क्रममा रहेकाहरूको हकमा नेपाली नागरिकता खिच्ने सम्भावना प्रबल छ । प्रशासन स्रोतले त्यसरी नागरिकता खिचेपछि छानबिन नटुङ्गिएसम्म फायल कार्यालयमा खडा रहने जनाएको छ । प्रशासनले यथेष्ट प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाउने तयारी गरेको बुझिएको स्रोतले जनाएको छ ।

दोषी पाइएको हकमा कानून बमोजिमको कारबाही अघि बढ्न सक्ने प्रशासन निकट कर्मचारीहरूको बुझाइ छ । प्रशासन कर्मचारीका अनुसार सुनसरी प्रशासनमा ८० बढीको सङ्ख्यामा दोहोरो नागरिकता उपरको उजुरीका आधारमा छानबिन जारी छ । सुनचाँदी व्यवसायीको दोहोरो नागरिकता उपरको अनुसन्धानको विषयमा सुनसरी प्रशासनले खुलेर प्रतिक्रिया दिन भने चाहेको छैन । उसले उक्त विषय छानबिन र अनुसन्धानकै क्रममा रहेको बताउँदै आएको छ । यता सुनसरी प्रहरीले भने सम्बन्धित व्यक्तिलाई उपस्थित गराउन प्रशासनको पत्राचार बमोजिमको काम भएको संक्षिप्त जानकारी दिएको छ ।