धनकुटा । प्रतिनिधिसभाको कानून्, न्याय तथा मानवअधिकार समितिले जिल्ला कारागार धनकुटाको बुधबार स्थलगत अनुगमन गरेको छ । 

प्रतिनिधिसभाको कानून्, न्याय तथा मानवअधिकार समितिको स्थलगत अनुगमन समितिले जिल्ला कारागार धनकुटाको भौतिक अवस्था र सेवासुविधाको बारेमा प्रत्यक्षरूपमा बुझ्न कैदीबन्दीहरूसँग भेटेको छ ।

अनुगमन समितिका सदस्य एवम् प्रतिनिधिसभा सदस्य सुशीला थिङ तामाङका अनुसार देशभरका कारागार र बाल सुधारगृहको सुधारको लागि अनुगमन गर्न टोली आएको हो । उनले स्थलगत अनुमन टोलीले प्रदेश नं. १ को धनकुटा, सुनसरी र मोरङ जिल्लाको अनुगमन गर्ने वताए । अनुगमन टोलीमा प्रतिनिधिसभा सदस्य जीवन परियार, पुण्यबहादुर साह, रञ्जुकुमारी झा, रामकुमार राई, सुशीला थिङ र समितिका शाखा अधिकृत मानबहादुर डङ्गोलको सहभागिता रहेको छ ।

कारागारका निमित्त कार्यालय प्रमुख हेमराज भण्डारीका अनुसार जिल्ला कारागारका २ वटा पक्की भवन रहेका छन् । जसमा १५ जनाको क्षमता भएको महिला कैदीबन्दीको लागि २ वटा कोठा रहेका छन् । जिल्ला कारागारमा पुरुष कैदीबन्दी १ सय जना रहेका छन्  । उनले कैदीबन्दीको लागि दैनिक जनही ८० रुपैयाँ र ७ सय ग्राम चामल दिने गरेको बताए ।

कारागारमा विभिन्न घटनामा दोषी ठहरिएका अभियुक्तहरूमा जबर्जस्ती करणीमा ४२ जना, लागूऔषधमा २० जना, कर्तव्य ज्यानसम्बन्धी मुद्दामा २२ जना लगायत ५ जना महिला बन्दीसहित जम्मा १ सय ५ जना कैदीबन्दीहरूले  कैद भुक्तान गरिरहेका छन् ।