सङ्खवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा चार गुणा कैदीबन्दी राख्दा समस्या भएको छ ।

जिल्ला कारागारमा पच्चीस कैदीको क्षमता भएको कारागारमा एक सय ३४ कैदीबन्दी राखिएको छ । कारागारमा एक सय २६ पुरुष र आठ महिला कैदीबन्दी छन् ।

तीमध्ये १० ज्येष्ठ नागरिक र एक जना आश्रित बालक राख्नुपरेको कारागारका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए ।

कारागार करिव चार रोपनी क्षेत्रफल फैलिएको छ । बन्दीको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि पर्याप्त ठाउँ नभएको जनाइएको छ ।

क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी सङ्ख्या भएकाले दैनिक क्रियाकलाप गर्ने समेत समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ ।

कारागारको सुधार तथा क्षमता वृद्धि गर्ने लागि माथिल्लो सरोकारवाला निकायलाई अनुरोध गरे पनि बेवास्ता गरिएको जेलर घिमिरेले बताए ।

कारागारमा आपत्कालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन छ । कारागारमाथिको साइडमा बजार भएकाले भवन निर्माण भएका छन् भने तलतिरको साइड भिरालो र व्यक्तिको जमिन भएकाले सडक पुर्याउन सकिएको छैन । कारागार जाने माथिको साइडमा सानो भिरालो सिँढी (भञ्याङ) ओर्लिए मात्र पुग्न सकिन्छ ।

आपद-विपद पर्दा उद्धारमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडी पुग्न सक्ने सडकसमेत छैन । जिल्ला कारागार खाँदबारीमा २०८० साउन २४ गते सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट कैद भुक्तान गरिरहेका जिल्लाकै मादी नगरपालिका–५ का २१ वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो ।

कारागारका सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका पीडित परिवारले घटना भएको ६ महिना बिते पनि राज्यले दिने भनेको राहत वा क्षतिपूर्ति हालसम्म पाउन नसकेका बताइएको छ ।