इटहरी उपमहानगरको खोला तथा पैनीको जग्गा मिचेर बनेका अवैध संरचनामाथि नगरले डोजर चलाएको छ । 

नगरले पटक–पटक सूचना जारी गरे पनि अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । इटहरीको टेङ्ग्रा खोलाको सिरानमा सार्वजनिक सम्पत्ति मिचेर स्थानीयहरूले साना तथा ठूला भवनहरू निर्माण गरेका थिए ।

अवैध संरचना हटाउनका लागि नगरले चारपटकसम्म सार्वजनिक सूचना जारी गरेको थियो । संरचना हटाउने सूचना जारी गरेर मौन बसेपछि सामाजिक सञ्जालमा नगरप्रमुख पौडेलको व्यापक आलोचना भएको थियो । केही दिनयता पत्रकार सम्मेलन गर्दै नगर प्रमुख पौडेलले सार्वजनिक जग्गा मिचेका संरचना हटाउने विषयमा आफू कटिबद्ध रहेको जनाएका थिए । 

इटहरी–२ का वडाध्यक्ष माधव कोइरालाले मङ्गलबार खोलाको सिरान भागका स्थानीयहरूसँग सहजीकरण गर्दै अवैध रूपमा निर्माण गरिएका २७ वटा संरचनाको सूची तयार पारेर हटाउन थालिएको बताए । गत ६ महिनायता नै खोलाको सीमा निर्धारण गरी अवैध संरचना हटाउन चारपटकसम्म म्याद थपेर सूचना जारी गरिएको थियो । नगर प्रमुख पौडेलसहितको विज्ञ टोली, स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन र नगर प्रहरीले स्थलगत नापजाँच गरी अवैध संरचना हटाउन थालेको हो ।

घर आँगनमै बाक्लो सुरक्षाकर्मी,  जनप्रतिनिधि, तीनवटा डोजर देखेपछि स्थानीयहरू अलमल्लमा परेका थिए । उक्त क्रममा जनप्रतिनिधिसँग केही समय सामान्य विवाद भएको थियो । 

मङ्गलबार नगरले खोलाको दुवै किनारबाट ६–६ मिटर नापजाँच गरी सोभित्र पर्ने अवैध संरचनामाथि डोजर चलाएको हो । स्थानीयहरूले रोपेको करिब चार हजार घना बाँस काटिएका छन् भने दुई दर्जन बढी चौपायाका खोरहरू भत्काइएको छ ।

खोलाको जमिनमा छ जनाले भवन निर्माण गरेको देखिएको र खाली गर्न पाँच दिनको समय प्रदान गरिएको उपमहानगरका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताए । इटहरीको टेङ्ग्रा क्षेत्रमा अभियान चलाइरहँदा जम्मा ७८ वटा अवैध संरचनाहरू भत्किने उपमहानगरका प्रवक्ता पोख्रेलले बताए ।

खेती खोला र सुकुमारी पैनीसहितमा निर्मित कुल तीन सयभन्दा बढी अवैध संरचनाहरू हटाइने उपमहानगरले जनाएको छ । स्थानीयले खोलाको जग्गा अतिक्रमण गर्न थालेपछि बर्सेनि बाढीका कारण ठूलो धनजनको क्षति हुँदै आएको छ । गत २०७४ मा आएको बाढीका कारण नौजनाले ज्यान गुमाएका थिए ।

अतिक्रमणकै कारण खोला साँघुरिँदै गएपछि बर्सेनिको बाढीले इटहरी–२, ३, ४, ९, १०, ११ र १२ वडाहरू जलमग्न हुने गरेका छन् ।