कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले स्वयंसेविकाको वृत्तिविकासका लागि कोशी प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिएका छन्। मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आएका कार्कीले आज धनकुटा नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकासँगको भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएका छन्।

नेपाल पत्रकार महासङ्घ धनकुटाको समन्वयनमा भएको कार्यक्रममा स्वयंसेविकाले राखेको मागलाई सम्बोधन गर्दै कार्कीले समाजको तल्लो तहसम्म पुग्ने स्वयंसेविकाको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। उनले स्वयंसेविकाको सम्मान र प्रोत्साहनका लागि प्रदेशअन्तर्गत १४ जिल्लाका स्वयंसेविकालाई जनही पाँच–पाँच हजारका दरले रकम वितरण कार्यक्रम भइरहेको जानकारी दिएका छन्।

मुख्यमन्त्री कार्कीले सबै जिल्लाका स्वास्थ्य क्षेत्रसँगको छलफल गरेर स्वयंसेविकाका लागि क्षमता विकास, बीमा कार्यक्रम, सेवा सुविधालगायत कार्यक्रम तय गरिने जानकारी दिएका छन्। “अहिले प्रदेश सरकारको पहिलो लक्ष्यमा विकास गर्ने छ”, कार्कीले भन्नुभयो, “मानवीय विकास गरेपछि अन्य भौतिक विकासमा सहज हुने हाम्रो ठहर छ।”

महिला स्वास्थ्य स्वयंसेविकाको वृत्तिविकास पनि यसै मानवीय विकासअन्तर्गत रहेकाले स्वयंसेविकाको सेवासुविधाका लागि छलफल भइरहेको कार्कीले बताएका छन्। डाक्टर, कर्मचारी सबै एक प्रकारको स्वयंसेवक भएकाले आफ्ना परिवार र बालबच्चा छोडेर अरूको सेवा गर्ने स्वयंसेविकाका लागि उचित सेवासुविधाको कार्यक्रम ल्याइने कार्कीले प्रतिबद्धता जनाएका छन्।

मन्त्री कार्कीलाई स्वयंसेविकाले क्षमता विकास कार्यक्रम, उचित सेवासुविधा थप, अक्षयकोष निर्माणमा सहयोग, सेवानिवृत्त पछिको आर्थिक सहयोगमा वृद्धिलगायत माग राखेका थिए। कार्कीसहित कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप सुनवार, उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्री, योजना तथा आर्थिक मामिला राज्यमन्त्री इन्दिरा थापाको उपस्थिति थियो । 

मन्त्रीको टोलीलाई नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राई र राससका महाप्रबन्धक  सिद्धराज राईले सम्मान गरेका छन्।