बिर्तामोड । झापामा व्यवस्थित रङ्गशाला नहुँदा ठूलो रकम खर्च गरेर प्रतियोगिता गर्नुपर्ने बाध्यता छ । स्थानीय तहले सीमित बजेट विनियोजन गर्दा प्रतियोगिता त हुन्छ, तर भौतिक पूर्वाधारमा भने हालसम्म प्रभावकारी लगानी हुन सकेको छैन । पछिल्लो समय शिवसताक्षी नगरपालिकाले युवा तथा खेलकुदप्रेमीको भावनाअनुसार स्थानीय र केन्द्रीय बजेटसमेतको माग गरी व्यवस्थित रङ्गशाला निर्माणको काम अघि बढाएको छ ।

नगरपालिकामा २५ हजार दर्शक क्षमताको रङ्गशाला निर्माणको काम भइरहेको छ । शिवसताक्षी नगरपालिका र जनसहभागितामा रङ्गशाला निर्माणको काम धमाधम भइरहेको हो । स्थानीयले रङ्गशाला निर्माणमा साथ दिँदा बहुवर्षे योजना अगाडि बढ्न सम्भव भएको हो । शिवसताक्षीको दुधे बजार उत्तरपट्टि निर्माण भइरहेको रङ्गशाला ४ वर्षमा निर्माण सम्पन्न हुने नगर प्रमुख मेघाहाङ थोप्राले जानकारी दिए । ‘हामीले मञ्च र चेञ्जिङ रुम निर्माणका लागि एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थियौँ’ थोप्राले भने, ‘६९ लाख ६१ हजार ९ सय २१ रुपैयाँमा ठेक्का लागेर यसै आर्थिक वर्षमा ती संरचना निर्माण सम्पन्न हुन्छ ।’ उनले नगरपालिकाले बहुवर्षे योजनामा समावेश गरेर रङ्गशाला निर्माण सम्पन्न गर्ने जानकारी दिए । ‘सडक निर्माण गर्यो भने २–४ वर्षमा भत्किन्छ, पुल, पुलेसाको पनि अवस्था उही हो’ नगरप्रमुख थोप्राले भने, ‘मेरै कार्यकालमा दीर्घकालीन महŒव राख्ने भौतिक संरचना निर्माण गर्ने उद्देश्य बमोजिम यता लगानी गर्ने निर्णय गरेका हौँ ।’ थोप्राले भने, ‘झापामा फुटबलको जुन क्रेज छ, त्यसमा केही गरौँ भनेर हामीले ठूलो लगानी यहाँ गरेका हौँ ।’

रङ्गशालामा घेराबारा गरिएको छ । अहिले रङ्गशालाको जमिन सम्याउने काम सकिएको छ । आठ बिघा क्षेत्रफलमा निर्माणाधीन रङ्गशाला अहिलेसम्म मुलुककै ठूलो र सुविधासम्पन्न हुने निर्माणकर्ताको दाबी छ । निर्माण समितिका अध्यक्ष सन्तोष थोप्राले रङ्गशालामा उपयुक्त हुने माटो बिछ्याउने काम भइरहेको बताए । ‘मञ्च र चेञ्जिङ रुम असारसम्ममा निर्माण भइसक्छ’ अध्यक्ष थोप्राले भने, ‘त्यो बेलासम्म ग्राउण्डलाई पनि पूर्णरूपमा तयार गर्छौं ।’ थोप्राले बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा भएको जस्तै झार रोप्नका लागि खरिद गरिसकेको बताए । रङ्गशालाको अभावमा झापामा अस्थायी प्यारापिट निर्माण गरेर फुटबलको विभिन्न प्रतियोगिता आयोजना हुँदै आएका छन् ।

अध्यक्ष थोप्राका अनुसार रङ्गशालाको प्यारापिट निर्माण गर्न जनसहभागिता जुटाइनेछ । ‘समाजमा आफ्ना दिवङ्गत अग्रजको नाममा विभिन्न पाटी, पौवा निर्माण गर्ने क्रम छ, तर त्यो स्थायी हुँदैन, उनीहरूको नाममा रङ्गशालामा योगदान गर्न लगाइयो भने वर्षाैंसम्म सम्झिन सकिन्छ ।’ थोप्राले जनसहभागिताअनुसार निर्माण हुने प्यारापिटमा उनीहरूको सम्झनामा नाम लेखिनेसमेत बताए ।

रतुवा–माई वृक्षरोपण आयोजनाले चर्चेको जमिनमा रङ्गशाला निर्माण हुन लागेको हो । दमकदेखि माईधारसम्मको सो क्षेत्रमा दर्जनौं खेलमैदान भए पनि व्यवस्थित नहुँदा ठूला प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । पाडाजुँगीमा आदिवासी रङ्गशाला निर्माण हुने चर्चा चले पनि राजनीतिक विवादका कारण निर्माणमा ढिलाइ भएको छ । दुधे रङ्गशाला निर्माण सम्पन्न भएपछि फुटबललगायत खेलकुदका गतिविधिमा फड्को मार्न सकिने नगरको अपेक्षा छ । भद्रपुरमा रहेको मेची रङ्गशाला पनि हालसम्म अधुरो छ । रङ्गशाला निर्माणले पूर्णता नपाउँदा गतवर्ष सम्पन्न भएको भद्रपुर झापा गोल्डकप हेर्नका लागि अस्थायी प्यारापिट निर्माण गर्नुपरेको थियो । सताक्षीधामको यो रङ्गशाला बनेपछि जिल्लाको पहिलो व्यवस्थित रङ्गशालाका रूपमा सूचीकृत हुनेछ ।