सुनसरीको बराहक्षेत्र- १ नम्बर वडाका ज्येष्ठ नागरिकले झापाका विभिन्न तीर्थस्थलको भ्रमण अवलोकन गरेका छन् ।


वडाका नागरिकलाई धार्मिक तीर्थाटन गराउने उद्देश्यले वडाका वराहक्षेत्र, चावाचा, सूर्यकुण्ड, कटहरे, खारखोला, बगुवा, चतरालगायतका स्थानका ज्येष्ठ नागरिकलाई वडाले धार्मिक लाभ आर्जनका लागि भ्रमण गराएको वडाध्यक्ष किसन थापाले जानकारी दिए ।

ज्येष्ठ नागरिकलाई झापाका अर्जुनधारा जलेश्वर धाम, पाउ पाथीभरा चारआली, शिवसताक्षीधामलगायतको भ्रमण गराइएको हो । ६५ जना ज्येष्ठ नागरिक सहभागी टोली धामहरुको दर्शन, पूजापाठसँगै तीर्थस्थलको महत्वबारे जानकारी लिए ।

भ्रमणका अवसरमा ज्येष्ठ नागरिकले धार्मिक कार्यसहित आगामी चैत्र महिनादेखि वराहक्षेत्र चतराधाममा लाग्ने बाह्रवर्षे पूर्ण कुम्भ मेलाको प्रचारप्रसारसमेत गरेको ज्येष्ठ नागरिक कबिरबहादुर ठटालले बताए ।

बराहक्षेत्र नगरपालिका वडा नं. १ ले ज्येष्ठ नागरिक धार्मिक भ्रमण आयोजना गरेको हो । वडाले बर्सेनि ज्येष्ठ नागरिक लक्षित कार्यक्रम आयोजना गर्ने वडाध्यक्ष किसन थापा मगरले बताए । धार्मिक तीर्थयात्राले स्थानीय पर्यटनको प्रवर्धनसँगै प्रचारप्रसार र सूचनाआदानप्रदानका कारण धार्मिक पर्यटनकै क्षेत्रमा टेवा पुग्ने बताए । उनले कुम्भमेलाको प्रचार गर्नसमेत यो धार्मिक भ्रमण सहयोगी भएको बताए ।