इटहरी । ‘होली’ भन्ने बित्तिकै रङहरूको पर्व भनेर बुझ्ने गरिन्छ । होली खेल्दा पनि रङकै प्रयोग गरिन्छ । तर, मोरङको सुन्दरहरैँचा–५ स्थित नयाँ वृन्दावन गौशालामा आइतबार फूलको होली खेलिएको छ ।

धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित वृन्दावनमा फूलको वर्षासहित होली खेलिएको हो । शदियौंदेखि चलिआएको परम्परालाई आत्मसात गर्दै वृन्दावन गौशाला परिवारले गत वर्षदेखि होली पर्वमा फूलको होली खेल्दै आइरहेका हुन् । राधेश्याम ट्रष्टबाट सञ्चालित वृन्दावन गौशालाका संरक्षक चर्चित पुराणवाचक दीनबन्धु शास्त्रीले फूलको होली खेलेर पनि एक–आपसमा भाइचाराको सम्बन्ध कायम गर्न सकिने र खुसीहरू साटासाट गर्न सकिने बताए । गौशालामा सञ्चालित महायज्ञमा फूलको होली खेलिएको छ ।

होलीमा ५ हजारभन्दा बढी भक्तजनहरू सहभागी थिए । यसैबीच गौशाला परिसरमा निर्मित विश्वकै ठूलो दाबी गरिएको गाईको प्रतिमा अनावरण गरिएको छ । गौशाला परिसरमा गत चैत ७ गतेदेखि सञ्चालानार्थ श्रीमद् भागवत् ज्ञान महायज्ञकै अवसरमा प्रतिमा अनावरण गरिएको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिमाको अनावरण गरेका हुन् । २०७५ भदौ १७ गते पनि थपलिया स्वयम्ले शिलान्यास गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका आयुक्त थपलियाले प्रतिमा अनावरणसँगै गौशाला क्षेत्रको अवलोकन पनि गरेका थिए । आयुक्त थपलियाले गौशाला परिसरमा रहेका गाईहरू, निर्माण भएका भौतिक संरचना, मठमन्दिरलगायतको अवलोकन गरेका थिए । विगतमा उजाड रहेको स्थान अहिले धार्मिक पर्यटकीय स्थलमा परिणत भएको देख्दा प्रफुल्लित भएको आयुक्त थपलियाले बताए । जमिनको सतहबाट १३ फिट अग्लो संरचना बनाई त्यसमाथि ३६ फिट तीन इन्च अग्लो प्रतिमा बनाएर राखिएको छ ।

उक्त प्रतिमा निर्माण गर्दा करिब एक करोड ५० लाख खर्च भएको गौशालाका संरक्षक शास्त्रीले बताए । बाच्छोसहितको गाईको प्रतिमा निर्माणका लागि मात्रै ३९ लाख ३२ हजार रुपैयाँ खर्च भएको छ । सुन्दरहरैँचालाई देशकै नमुना धार्मिक पर्यटकीय स्थलको रूपमा परिचित गराउन र विश्वको ध्यान आकृष्ट गर्न गाईको प्रतिमा निर्माण गरिएको गौशालाका संरक्षक दीनबन्धु शास्त्रीको भनाइ छ । गौशालामा हाल ४० वटा विभिन्न प्रजातिका गाईहरू राखिएका छन् । करिब १२ बिघा जमिनमा फैलिएको गौशालामा दुइटा आश्रम निर्माण गरिएको छ । उक्त स्थानमा गुरुकुलसमेत रहेको छ ।