विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।

आज (सोमबार) तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरि सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।

होलीमा कोशी प्रदेशमा ४ हजार ८ सय ६ं५ प्रहरी परिचालन गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । प्रदेशभरिमा १ सय १७ ठाउँमा चेकिङ,  मोबाइल गस्ती ९६, पैदल गस्ती १ सय ८७, क्यूआरटी ३ सय ७८, अनुगमन ३१, रिजर्भ ३२ रहने एसपी तिम्सिनाले बताए ।

होलीमा सुरक्षा व्यवस्था मजबुत बनाउन कोशी प्रदेशको राजधानी विराटनगरमा सिसी टिभीबाट पनि निगरानी गर्ने भएको छ । मोरङ प्रहरीले होलीविशेष सुरक्षा योजना बनाई कार्यान्वयन गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादितरूपमा मनाउन आग्रह गरे । उनका अनुसार विराटनगरमा मात्र ७ सय बढी प्रहरी परिचालन गर्ने उनले बताए । तीन दर्जनभन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको छ । सम्भावित घटना हुन नदिनका लागि भीडभाड हुने ठाउँहरूमा सिसी टिभीबाट पनि निगरानी गर्ने प्रबन्ध गरिएको छ ।

होलीलाई मर्यादित रूपले मनाउन सामाजिक सञ्जालबाट पनि प्रहरीले सचेत गराएको उनले बताए । ‘होली पर्व आम नेपालीहरूको लागि एउटा रङको पर्व, मेलमिलापको पर्व हो । त्यसकारण शान्तिपूर्ण र एक–अर्काप्रति सम्मान भावसहित होली पर्व मनाउन आग्रह गरेका छौँ’ उनले भने, ‘प्रहरीले देशभरि त्यहीअनुसार सुरक्षा व्यवस्था गरेको छ । विराटनगरमा पनि हामीले विशेष सुरक्षा व्यवस्था लागू गरेका छौँ ।’

उनले सभ्य, सुरक्षित र व्यवस्थित बनाई सद्भावपूर्ण र उल्लासमय ढङ्गले होली पर्व मनाउन आग्रह गरे । ‘होलीमा मदिरा सेवन गरी सवारी चलाउने गरेको पाइन्छ । झै–झगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जान सक्ने अवस्थासमेत हुन्छ’ उनले भने, ‘त्यसकारण विराटनगरमा तीन दर्जनभन्दा बढी स्थानमा संयुक्त चेकिङ हुन्छ । जसले सम्भावित घटनाहरूलाई न्यूनीकरण गर्दछ ।’

होली    पर्वमा    उच्छृङ्खल
गतिविधि नियन्त्रण गर्न विराटनगरमा सुरक्षाकर्मी खटिने उनले बताए । ट्राफिक कार्यालयबाट मात्रै दुई सय बढी हाराहारीमा सुरक्षाकर्मी खटिनेछन् । होलीलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन विराटनगरमा ट्राफिक प्रहरी खटाउने प्रहरीले जनाएको छ ।

अनावश्यक हर्न बजाउने, हो–हल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठूलो आवाज निकाल्ने, मोटरबाइकमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिगज्याग गरी मोटरसाइकल कुदाउनेमाथि विशेष निगरानी हुने प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिनेछ ।

विशेषगरी मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमतिविपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झै–झगडा गर्नेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने एसपी कार्कीले बताए ।