इटहरी । किरातेश्वर मा.वि. धरानका शिक्षक योगेन्द्र पालुङ्वा सामुदायिक विद्यालयहरूलाई सरकारले हेर्ने दृष्टिकोण फराकिलो बनाउनुपर्ने धारणा राख्छन् । विद्यार्थी सङ्ख्या धेरै देखाउने प्रतिस्पर्धाका कारण सामुदायिक विद्यालयहरू बिचरा भन्ने अवस्थामा पुगेको उनले बताए ।

धरान उपमहानगरकै सरस्वती मा.वि.का प्रधानाध्यापक गङ्गा धमलाले सहरीभेगमा सञ्चालन भएका सामुदायिक विद्यालयसँग ग्रामीणभेगमा सञ्चालन भएका विद्यालय दाँज्न नै नमिल्ने बताए ।

उनले गाउँमा विद्यालयको भौतिक संरचना निर्माणदेखि विद्यार्थी सङ्ख्यासम्म कम हुने बताए । एक त दरबन्दीअनुसारको शिक्षक विद्यालयमा नहुनु र त्यसमा पनि विद्यार्थी विद्यालय आउँदै नआउनुले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको उनले औंल्याए ।

त्यस्तै सुनसरीको गौतमपुरस्थित जनता मा.वि.का प्र.अ. लीलानाथ सिलवालले विद्यार्थी सङ्ख्या कम हुँदैमा विद्यालय ‘मर्ज’ गर्ने  सरकारको नीति गलत रहेको उल्लेख गरे । उनले कसरी हुन्छ, त्यस्ता विद्यालयहरूमा विद्यार्थी सङ्ख्या बढाउन साझा कार्यक्रमहरू ल्याउनु पर्नेमा उल्टै विद्यालय नै ‘मर्ज’ गर्नुपर्ने स्थितिले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषय अन्यौल बनेको बताए । यी माथिका गुनासो सुनाउने सुनसरीका विभिन्न क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरू हुन् ।

सुनसरीको इटहरीमा शनिबार ‘हामी सुधार्छौं हाम्रो विद्यालय’ राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा भेला भएका शिक्षक तथा प्रअहरूले आ–आफ्नो सामुदायिक विद्यालयको अवस्था, स्थानीय सरकारको भूमिका, शिक्षकको दायित्व र विद्यार्थी, अभिभावकको उपस्थिति, समस्या र चुनौतीबारे बृहत् छलफल र अन्तरक्रिया गरिएको थियो । सुनसरीका १२ वटै स्थानीय तहहरूबाट भेला भएका करिब ६ सय बढी शिक्षकहरूले सामुदायिक विद्यालयहरूको वर्तमान अवस्थाबारे सुनाएका थिए ।

राम्रा विद्यार्थीहरू छानेर लिने र नराम्रा विद्यार्थीहरू नलिने प्रवृत्तिका कारण पछिल्लो समय सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर झनै खस्किँदै गएको शिक्षकहरूले गुनासो राखेका थिए । नेपाल हरि मा.वि. इनरुवाका प्र.अ. काशीराम चौधरीले सरकारबाटै पटक–पटक सामुदायिक विद्यालयलाई धोका हुँदै आएको गुनासो गरे । उनले शिक्षा सुधारका नाममा विभिन्न योजना ल्याए पनि कार्यान्वयन नै हुन नसकेकोप्रति सरकार गम्भीर हुनुपर्ने उनले औंल्याए ।

भेलामा उपस्थित शिक्षकहरूले आफ्नो मर्यादा र पदीय जिम्मेवारी भुलेर अधिकांश शिक्षकहरू राजनीतिक दलमा आबद्ध हँुदा अभिभावकहरूले सामुदायिक विद्यालयबाट आ–आफ्नो बालबच्चा निकालेर निजी विद्यालयहरूमा पढाउने गरेको तीतो यथार्थ सुनाएका थिए । कार्यक्रममा एउटा सफल सामुदायिक विद्यालयले गरेको प्रगतिबारे छोटो डकुमेन्ट्रीसमेत देखाइएको थियो तर, सोही दृश्यमा पनि उपस्थित शिक्षकहरूले प्रश्न राखेका थिए ।

सहरीभेगमा भएका विद्यालयको भिडियो देखाउनुभन्दा ग्रामीण क्षेत्रमा रहेका विद्यालयको दुरावस्थाबारे देखाउन उपयुक्त र प्रभावकारी हुने हरिनगरका शिक्षक  फडिन्द्र अधिकारीले बताए । उनले हरिनगर क्षेत्रमा रहेका अधिकांश सामुदायिक विद्यालयहरूको अवस्था नाजुक रहेको सुनाए । अझ बालविकास केन्द्रहरू समुदायबाट चन्दा सङ्कलन गरेर चलाउनु पर्ने अवस्था रहेको पनि सुनाए ।

शिक्षकहरूको जिज्ञासा र उठाइएका प्रश्नबारे जनता मा.वि. इटहरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीराज दङ्गालले सामुदायिक विद्यालयप्रति उठेका प्रश्नहरू जायज रहेको बताए । उनले भने, ‘विद्यालय सुधारका निमित्त र गुणस्तरीय शिक्षामा अब्बल बनाउन अभिभावकदेखि व्यवस्थापन समिति पनि त्यतिकै सक्रिय हुनुपर्छ ।’

सामुदायिक विद्यालयकै तुलनामा इटहरीको जनता मा.वि. सरकारबाटै नमुना विद्यालय घोषणा भइसकेको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष दङ्गालले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट शिक्षामा ठोस नीति अविलम्ब अवलम्बन गरिनुपर्नेमा जोड दिए ।

त्यस्तै पब्लिक हाईस्कुल धरानका प्र.अ. डा.इन्द्रमोहन झाले पछिल्लो समय सामुदायिक विद्यालयहरूको अवस्था हेर्न हुने र अभिभावकहरूले पनि विश्वास गर्नलायकको भएको सुनाए । उनले भने, ‘विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीहरूले राजनीतिक दलको सदस्यता त्याग्ने हो भने नेपालका ८० प्रतिशत सामुदायिक विद्यालय त्यसै सुधार हुन्छ ।’

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ र नेपाल शिक्षक महासङ्घको सहकार्यमा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधार, शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष गुणराज मोक्तान, स्थानीय शासनविज्ञ सोमत घिमिरेले उपस्थित शिक्षकहरूलाई उचित परामर्श तथा लाभदायक सुझावहरू प्रदान गरेका थिए ।

‘विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीहरुले राजनीतिक दलको सदस्यता त्याग्ने हो भने नेपालका ८० प्रतिशत सामुदायिक विद्यालय त्यसै सुधार हुन्छ ।’
डा.इन्द्रमोहन झा, प्र.अ.
पब्लिक हाईस्कुल, धरान

‘विद्यालय सुधारका निमित्त र गुणस्तरीय शिक्षामा अब्बल बनाउन अभिभावकदेखि व्यवस्थापन समिति पनि त्यत्तिकै सक्रिय हुनुपर्छ ।’
काशीराज दङ्गाल, अध्यक्ष
जनता मा.वि. इटहरी