पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रत्येक तीन वर्षमा लाग्ने ऐतिहासिक त्रिशाली पूजा र मेलाको अवसरमा आगामी वैशाख १६ गतेदेखि फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक यलम्बर युवा संस्था कुम्मायकले यासोकको सिम्रिक होटलको सभाहलमा पत्रकार सम्मेलन गरी गोल्डकप सञ्चालन गर्ने विषयमा जानकारी गराएको हो ।

प्रतियोगितामा आयोजक यलम्बर युवा क्लबसहित ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टिमले तीन लाख ५५ हजार पाँच सय पचपन्न रुपैयाँ र उपविजेता टिमले नगद एक लाख ७७ हजार सात सय ७७ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई पाँच हजार, बेस्ट डिफेण्डर, बेस्ट किपर, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही आठ हजारको दरले पुरस्कार प्रदान गर्ने र बेस्ट कोचलाई पाँच हजार साथै प्रत्येक दिनको म्यान अफ द म्याचलाई समेत हजार रुपैयाँको दरले पुरस्कार प्रदान गर्ने अयोजक संस्थाका अध्यक्ष भीमनारेन लावतीले जनाए ।

प्रतियोगितामा आयोजक यलम्बर युुवा क्लब, वाईवाई पाँचथर फुटबल क्लब, रेडहर्ष इलाम, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, डाँगीहाट एफसी मोरङ, सिटी फुटबल क्लब सुनसरी, दमक एकेडेमी झापा र पूर्वाञ्चल एपीएफ पकलीले सहभागिता जनाउने लावतीको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्न ३५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक कुम्मायक गाउँपालिका रहेको छ । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष बमप्रसाद लावती, उपाध्यक्ष महेन्द्रबहादुर खड्का, कुम्मायक–१ का वडाध्यक्ष तथा पालिका प्रवक्ता देवेन्द्रकुमार लावती र कुम्मायक–५का वडाध्यक्ष निर्मलराज घिमिरेको उपस्थिति रहेको थियो ।