बिर्तामोड । झापाको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई सम्मान गरेको छ । प्रतिष्ठानले झापाको बिर्तामोडमा एक समारोहको आयोजना गरी महजोडीलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो ।

प्रतिष्ठानले पहिलो पटक यो सम्मान तथा पुरस्कार प्रदान गरेको सचिव लक्ष्मण ढकालले जानकारी दिए । महजोडीलाई संयुक्तरूपमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कारसहित सम्मान प्रदान गरिएको थियो । भारतको दार्जिलिङका प्रख्यात नाटककार सि.के. श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रममा सम्पन्न भएको थियो ।

पुरस्कृत प्रतिभा हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफूबीचको मित्रताको लोगो मरणोपरान्त सम्झनलायक बनाउने उद्घोष गरे । उनले आफू आदर्श नागरिक भएको थाहै नपाई यस्तो पुरस्कार पाएको टिप्पणी गरे । मदनकृष्ण श्रेष्ठसँगको ४४ वर्षको सहयात्राले आफूलाई यो स्थानमा पुर्याएको भन्दै उनले मित्रताको दीर्घकालीन नमुना हुन पाएकोमा गौरव महसुस गरेको बताए ।

अर्का प्रतिभा मदनकृष्ण श्रेष्ठले हरिवंश आचार्य र उनले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार रहेको बताए । उनले आदर्श नागरिक सम्मानका रूपमा आफूहरूलाई सम्मानित गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि सि.के. श्रेष्ठले भाषा, कला, साहित्यलाई देशको सीमाले छेक्न नसक्ने बताए । उनले ३२ वर्षअघि सिक्किममा महजोडीलाई सम्मान गर्ने अवसर पाएको स्मरण गर्दै यो पटक त्यही अवसर दोहोरिएको बताए । श्रेष्ठले महजोडी कलाकार वा व्यक्तिमात्र नभएर प्रतिष्ठान भएको बताए ।

नेपाल कमजोर भयो भने अरू देशमा रहेका नेपालीभाषीले पनि दुःख पाउने उनले उल्लेख गरे । ‘नेपाल जरा हो, हामी त फल र फूल मात्र हौँ’ श्रेष्ठले भने, ‘जरा नै दूषित भयो भने फल र फूलको अवस्था ठीक हुँदैन, त्यसकारण जरा सधैँ सही हुनुपर्छ ।’ नेपालले प्रगति गर्दा अरू देशमा रहेका नेपालीभाषीले गौरव गर्ने गरेको उनको भनाइ थियो ।