इटहरी । सन्तानको माया र स्थानीयहरूको अवरोधका कारण बासस्थान बिर्सिएको जङ्गली हात्तीको समूहले विगत २ महिनायता सुनसरीका विभिन्न स्थानमा आतङ्क मच्चाउँदै आएको छ ।

गत ३ महिनायता सुनसरीमा ३ जनाको ज्यान लिइसकेको जङ्गली हात्तीको समूहले १५ दिनयता लगातार इटहरी–२, ३ र २० मा आतङ्क मच्चाउँदै आएको छ । करिब २७ वटाको समूहमा आएका जङ्गली हात्तीहरूले इटहरी–२ शान्तिनगर र तरहरास्थित कृषि अनुसन्धान परिसरमा उत्पात मच्चाउँदै आएका हुन् । हात्तीको समूहले कृषि अनुसन्धानभित्र पसेर बिउ बाली नष्ट गर्नुका साथै क्वार्टर भवन भत्काएर अन्न मास्नेदेखि राष्ट्रिय भैँसी अनुसन्धान, बागवानी अनुसन्धान क्षेत्रमा पनि क्षति पुर्याएको छ ।

बागवानी अनुसन्धानका प्रमुख मनिषकुमार ठाकुरका अनुसार १५ दिनयता हात्ती धपाउन सिङ्गो कर्मचारी युनिट नै बनाएर रातभर जाग्राम बस्नुपरिरहेको छ । हात्तीले कृषि अनुसन्धान परिसरमा मात्रै २५ लाख बढीको क्षति पु¥याएको बागवानी अनुसन्धानका प्रमुख ठाकुरले बताए । ‘अहिले १३ देखि १५ जना कर्मचारी ढुक्कै हात्तीको ड्युटीमा लगाएका छौँ’–उनले भने ।

हात्तीको समूहले बागवानीमा अनुसन्धानका लागि तयार पारिएको विभिन्न प्रजातिका आलुका बिरुवा, केराका प्रजाति, फलफूलका बिरुवा, गहुँ बालीलगायत सो क्षेत्रमा आवास गर्ने २ वटा कर्मचारी भवन भत्काएर क्षति पु¥याएको ठाकुरले बताए । यस्तै हात्तीको समूहले कृषि अनुसन्धान अन्तर्गत राष्ट्रिय भैँसी अनुसन्धानका लागि रोपिएको बहुमूल्य प्रजातिका घाँस र बिरुवा सबै नष्ट गरेको छ ।

भैँसी अनुसन्धानका प्रमुख पवनकुमार झाका अनुसार हात्तीले अनुसन्धान परिसरका २ ठाउँमा लगाइएको सिमेन्टको पर्खाल ३ पटकसम्म भत्काउँदा करिब ८ लाखको क्षति गरेको र विभिन्न प्रजातिको घाँस र बिउ मासिदिँदा ५ लाखको क्षति भएको बताए ।

पर्याप्त मात्रामा घाँस र बिउ नै मासिएपछि अहिले भैंसी अनुसन्धानका लागि आवश्यक आहारा अभाव भइरहेको उनले बताए । हाल राष्ट्रिय भैंसी अनुसन्धानमा २ वटा मुर्रासहित विभिन्न प्रजातिका १ सय २८ वटा भैंसीहरू रहेका छन् । त्यस्तै २७ वटाको समूहमा आएका जङ्गली हात्ती धपाउन कर्मचारीहरू रातभरि जाग्राम बस्नुपरेको कृषिका कर्मचारी सन्तोषकुमार श्रेष्ठले बताए । उनले हात्ती धपाउन अनेकौँ प्रयासहरू विफल भएपछि जोगवनीबाट बम र बारुद किनेर ल्याई पड्काउने गरेको बताए । बम पड्काएपछि मात्रै भाग्ने गरेको सन्तोष बताउँछन् ।

हात्ती धपाउने क्रममा पटक–पटक आफूहरूको ज्यानसमेत धरापमा परिसकेको सन्तोष बताउँछन् । यता कृषि अनुसन्धानका निमित्त प्रमुख तथा बागवानी अनुसन्धान कार्यक्रमका प्रमुख  मनिषकुमार ठाकुरले स्थानीय सरकारबाट सोचेजस्तो प्रभावकारी सहयोग प्राप्त नभएको गुनासो गरे । उनले प्रहरी प्रशासन र वन कार्यालयले सहयोग गरिरहेको भए पनि हात्ती आतङ्क पूर्ण रूपमा नियन्त्रणमा नआएको बताए ।

हात्ती धपाउने क्रममा झन्डै आफ्नै ज्यानसमेत धरापमा परेको उनले उल्लेख गरे । त्यस्तै इटहरी–२ का वडाध्यक्ष माधव कोइरालाले यसअगि जङ्गल आसपास हात्ती देखिए पनि गाउँभित्र पसेर वितण्डा र आतङ्क मच्चाउने काम नगरेको बताए । प्रहरी प्रशासनले नियमित साइरनसहितको गस्ती गर्ने हुँदा मानव बस्तीतर्फ हात्ती छिर्न नपाएको तर, इटहरी–२ कै कृषिमा भने थुप्रै बिगार गरेको भन्ने सुनेको बताए । गत ३ महिनायता सुनसरीमा जङ्गली हात्तीको समूहले ३ जनाको ज्यान लिइसकेको छ ।