धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चका महासचिव भूपेन्द्रसुन्दर लावतीलाई पार्टीका विभिन्न कमिटीले एक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरेका छन् ।

मञ्चको सुनसरी जिल्ला भेलाका अवसरमा लावतीलाई उपमहासचिवबाट महासचिवमा पदोन्नति भएकोमा बधाई ज्ञापन गरिएको मञ्चका सुनसरी अध्यक्ष राजकुमार लिम्बू ‘प्रिन्स’ ले जानकारी दिएका छन् ।

सो भेलामा सुनसरी जिल्ला कमिटी, धरान  नगर र इटहरी नगर कमिटीले बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका हुन् । सो अवसरमा बोल्दै महासचिव लावतीले आफूलाई अब सुनसरी जिल्लामा माथिल्लो तहको जानकारी गराउन सहज भएको बताए । उनले पहिला पार्टीको सूचना तथा सर्कुलर बुझ्न एकदिन खर्च गर्नुपर्ने अवस्था रहे पनि अब भने सहज हुने जानकारी दिए ।

त्यसैगरी उनले धरानमा स्थानीयले सोचेजस्तो नगरको विकास हुन नसकेको बताए । देशको राजनीति तरल अवस्थाका कारण विकासका काम ठप्प भएको बताए । जताततै भ्रष्टाचार, सुन तस्करीजस्ता घटनाको चर्चा परिचर्चा भइरहेको बताउँदै उनले नेपाल भारत र चीनको चपेटामा परेको बताए । उनले भने, ‘नेपाली नागरिकहरू अत्यन्तै सचेत हुनुपर्ने अवस्था छ ।’