विराटनगर । नेपाल भाषा तथा संस्कृति सङ्घ (झी पुचः) ले नेवाः खलः कास्कीलाई २ लाख रुपैयाँसहित सुदर्शन–कपिला सिरपा ११४४ सम्मान प्रदान गरेको छ ।

नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि विशेष योगदान पुर्याएको भन्दै नेवाः खल कास्कीलाई झीः पुचले विराटनगरमा शुक्रबार उक्त सम्मान प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि काङ्ग्रेस नेता एवम् पूर्व गृहमन्त्री विजयकुमार गच्छदार, कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेलाई सुर्दशन–कपिला सिरपा ११४४ सम्मान हस्तान्तरण गरेका हुन् ।

नेपाल भाषा तथा संस्कृति सङ्घ विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि योगदान पु¥याएकाले नेवाः खलः कास्कीलाई नगद २ लाखसहितको सुदर्शन–कपिल सिरपा ११४४ बाट सम्मानित गरिएको बताए । सुदर्शन–कपिला ट्रष्टले स्थापना गरेको सम्मान नेपाल भाषा तथा संस्कृति सङ्घ विराटनगरमार्फत् नेवाः खलः कास्कीलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

नेपाली भाषा एवम् संस्कृतिको क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि अनवरतरूपमा क्रियाशील संस्था नेवा खलः कास्कीलाई उक्त सम्मानबाट सुशोभित गरिएको झी पुचः विराटनगरका अध्यक्ष  श्रेष्ठले बताए । उक्त कार्यक्रममा सांस्कृतिक स्मारिका समेत विमोचन गरिएको छ ।

४४ वर्षअगाडि नेपाल सम्बत् ११०१ (वि.सं. २०३८) सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवम् संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने व्यक्ति एवम् संस्थालाई कदर स्वरूप प्रत्येक २–२ वर्षमा सुदर्शन–कपिला सिरपा (सम्मान) बाट सुशोभित गर्दै आएको छ । झी पुचःका संरक्षक एवम् समाजसेवी सुदर्शन श्रेष्ठद्वारा स्थापित उक्त सिरपाबाट यसअघि २०७६ साल फागुन २ गते संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित भइसकेका छन् ।

यसअघि २०७८ सालमा भारतको गान्तोकस्थित सिक्किम नेवा गुठीलाई पनि सम्मान गरिसकेको छ । पहिलो पटक काठमाडौँ नक्सालमा आयोजित एक भव्य समारोहका बीच नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेपछि झी पुचः ले उक्त पुरस्कारलाई निरन्तरता दिँदै आएको झीः पुचका अध्यक्ष श्रेष्ठले बताए । ‘सुदर्शन–कपिला सिरपा’ विराटनगर–१० निवासी सुदर्शन श्रेष्ठ र उनको परिवारद्वारा स्थापित पुरस्कार हो ।

२०७६ सालको नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमबीच श्रेष्ठ र उनको परिवारद्वारा नेपाली भाषा एवम् संस्कृतिको जगेर्ना गर्ने व्यक्ति वा संस्थालाई झी पुचः मार्फत्् प्रत्येक २–२ वर्षमा कदरस्वरूप ‘सुदर्शन(कपिला सिरपा’ द्वारा सुशोभित र नगद २ लाख रुपैयाँको सिरपा थैली प्रदान गर्ने घोषणा गरिएको थियो । त्यसका लागि २० लाखको अक्षयकोष खडा गरिएको छ । प्रत्येक १० वर्षपछि सिरपा थैली रकममा ५०–५० हजारका दरले थप गरी एकमुष्ठ वृद्धि गर्ने योजना रहेको झी पुचः ले जनाएको छ ।