समाजमा हत्याका घटना बढिरहेका छन् । यस्ता घटनामध्ये सबैभन्दा धेरै आफन्तबाटै हुने गरेको पाइन्छ । त्यसमा पनि प्रेमीबाटै प्रेमिकाको हत्या भएका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । केही दिनअघि विराटनगरको नोबेल अस्पतालकी नर्सको हत्या घटनामा पनि प्रहरीले उनका प्रेमी भनिएका युवाको खोजी गरिरहेको छ । आफूले माया गरेको मान्छेको कसरी सहजै हत्या गर्न सक्छ मान्छे ? सम्झिँदै आङ रिसिङ्ग हुने यस्ता घटना बढिरहनुले हाम्रो समाज कतातिर गइरहेको छ ? भन्ने अनुमान मात्र गर्न सकिन्छ । पछिल्ला हत्याका घटनाक्रमले आफन्तबाटै खतरा बढिरहेको बुझ्न कठिन छैन । परिवारभित्रै अपराधका घटना बढिरहँदा यसको असर कस्तो पर्ला ? सबैले ध्यान पुर्याउनु जरूरी छ ।

आफूले माया गरेका प्रेमी–प्रेमिका वा श्रीमान्–श्रीमती सानो विषयमा रिसाउनु वा झगडा पर्नु त स्वभाविक हो तर, त्यही रिसको आवेगमा हत्या हिंसा गर्न तम्सिनुले समाजै गलत दिशामा गइरहेको बुझ्न सकिन्छ । सानो विषयमा असहमति हुँदा वा आफूले भनेजस्तो नहुँदा आक्रमणमा उत्रिनु र हत्यासम्म गर्न पछि नपर्नुले समाज नकारात्मक बनिरहेको समाजशास्त्रीहरुले बताउँदै आएका छन् । समाजको यस्तो प्रवृत्तिको बेलैमा उपचार नगर्ने हो भने अवस्था झनै विकराल बन्दै जाने निश्चित छ । समाजका लागि काम गर्ने सङ्घ–संस्था वा व्यक्तित्वहरुले आफ्नै वरपर बढिरहेको आपराधिक मानसिकतालाई गम्भीररुपमा लिनु आवश्यक छ ।

समाज सधैँ गतिशील हुन्छ । दैनिकरुपमा हुने विकास सँगसँगै समाजका विविध आयामहरुको विस्तार पनि भइरहेको छ । एकातिर प्रविधिको विकास भइरहेको र अर्कातिर त्यसैले खतरा बढाइरहेको हुन्छ । समाजको विकासमा पनि यही कुरा लागू हुन्छ । पछिल्लो समय प्रेमीप्रेमिका वा श्रीमान्श्रीमतीबीच झगडा हुने र हत्यासम्मका घटना हुने विविध कारणमध्ये सामाजिक सञ्जाल वा सूचना प्रविधिको प्रयोगबाट अन्य व्यक्तिसँग हुने सम्बन्ध पनि एउटा हो । समाजमा राजनीतिक, सामाजिक सबै क्षेत्रमा आवेग, असन्तुष्टिहरु बढिरहेका छन् । देशको राजनीतिक अवस्था, अधिक भ्रष्टाचारजस्ता विषयले पनि मान्छेमा निराशा बढाउँछ, त्यही निराशाले जन्माएको तीव्र आवेशमा कतिले आफैलाई सिध्याइरहेका छन् भने कतिले आफन्तलाई । यसरी सामाजिक रुपमा बढ्दो निराशा र हत्याजस्ता जघन्य घटनाको सम्बन्ध अन्ततः राज्यको नीतिसँग पनि जोडिन्छ । त्यसैले समाज किन निर्मम बनिरहेको छ ? किन सानो विषयमा आवेशमा आएर हत्याजस्ता जघन्य घटना भइरहेका छन् ? भन्ने विषय राजनीतिक दलहरुको एजेन्डा बन्नु जरूरी छ ।