धनकुटा । हिले–धनकुटा सडक–खण्डमा रुख ढलेर लाग्दा गम्भीर घाइते बनेकी एक महिलाको बिहीबार मृत्यु भएको छ ।

कोशी लोकमार्गअन्तर्गत धनकुटा–४ सल्लेरी स्थित भीमदल गणनजिकै सडकछेउमा रहेको शिरिषको रुख आफै भाँच्चिएर लाग्दा गम्भीर घाइते बनेकी धनकुटा–१ हिलेकी ३० वर्षीया उषा तामाङको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर अनिलकुमार साहले बताए ।

गम्भीर घाइते बनेकी तामाङलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार दिउँसो उनी श्रीमान् आशिषसँगै प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलमा धनकुटाबाट हिलेतर्फ जाँदै थिइन् ।

उनी जिल्ला अस्पताल धनकुटाबाट श्रीमान्सँग मोटरसाइकलमा घर फर्कंदै थिइन् । मोटरसाइकलमा सवार उनको श्रीमान् आशिष भने सकुशल छन् ।