विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्नुको साथै सडक अनुशासनको पालना गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सचेतनामूलक अभियानको थलानी गरेको छ ।

सचेतनामूलक सन्देश लेखेको प्ले–कार्ड बोकेर टूाफिक प्रहरी सडकमा उभिएर बिहीबारदेखि अभियानको थलानी गरेको हो । ट्राफिक नियमको उल्लङ्घनको कारणले जिल्लामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले सन्देशमूलक प्ले–कार्ड बोकेर सडकमा उभिने अभियान सुरु गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । यो अभियान एक हप्तासम्म सञ्चालन हुने उनले जानकारी दिए ।

‘ड्युटीमा रहेका ट्राफिक प्रहरीले सन्देशमूलक प्ले–कार्ड बोकेर सडकमा उभिने अभियान सुरु भएको छ । जसले गर्दा सवारी चालकहरूले ट्राफिक नियमको पालना गराउन सहयोग पुग्नेछ’ ट्राफिक इन्स्पेक्टर न्यौपानेले भने, ‘यो अभियान एक हप्तासम्म मोरङ जिल्लाभरि लागू हुनेछ, यस्तो अभियानले सवारी दुर्घटना न्यूनीकरण हुने हामीले अपेक्षा राखेका छौँ ।’ ट्राफिक प्रहरी तीव्र गति जीवन क्षति, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ जस्ता प्ले–कार्ड बोकेर सडकमा उभिएका छन् ।

चालक र सह–चालकलाई पनि दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिन थालिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘हामीले चालक र सह–चालकलाई सवारी साधन ओभरटेक नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न सचेत गराएका छौँ । प्रहरी निरीक्षक न्यौपानेले भने, ‘सामूहिकरूपमा चालक र सह–चालकलाई एकठाउँमा भेला गरेर हामीले प्रशिक्षण दिएका छौँ ।’

ट्राफिक प्रहरीले थालेको सचेतना अभियानले सवारी दुर्घटनामा कमी आउने पनि अपेक्षा गरिएको उनले बताए । ट्राफिक प्रहरी पोष्ट निमुवाले पनि अभियान सुरु गरेको छ । दुर्घटना न्यूनीकरणको लागि प्ले–कार्ड बोकेर अभियान सुरु गरिएको ट्राफिक प्रहरी पोष्ट निमुवाका इन्चार्ज एवम् असइ तुलामणि आचार्यले जानकारी दिए ।