धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ। मृत्यु हुनेमा इटहरी(९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका – २ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी – ५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी– ५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिएका छन्। किशन राईको उपचारका क्रममा मृत्यु भएको हो। 

साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। इलाका प्रहरी कार्यालय घोरेटारबाट सातजना र हसनपुरबाट पाँचजना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिएका छन्। घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ। 

धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेकोको १ज २५९३ नम्बरको जिप आज बिहान १०:३० बजेतिर उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो। जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ।