धरानबाट उदयपुरको चुहारा हुँदै भोजपुरको दक्षिणी भेग हतुवागढी, आमचोकका लागि छुटेको  बुलेरो जिप उदयपुरको मैनामैनीमा दुर्घटना भएको छ ।

उदयपुरको मैनामैनी ओरालोमा २ सय मिटर तल बुलेरो जीप खसेको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । स्थानीयको भनाइअनुसार ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । तर प्रहरीले यकीन जानकारी दिन सकेको छैन ।

प्रहरीका अनुसार भौगोलिक दूरताका कारण प्रहरी घटनास्थलतर्फ पुग्न केही समय लाग्ने छ । इलाका प्रहरी कार्यालय रामपुरका इन्सपेक्टर नेतृत्वमा घटनस्थलतर्फ प्रहरी परिचालन गरिएको छ भने कोसीपुलस्थित कोठु अस्थायी प्रहरी चौकीबाटसमेत प्रहरी घटनास्थलतर्फ परिचालन गरिएको छ ।

घटनास्थलतर्फ केही एम्बुलेन्ससमेत पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
घाइतेहरुलाई स्थानीयले उद्दार गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको बताइएको छ ।  थप विवरण आउन बाँकी छ ।