विराटनगर । विराटनगर–८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालिका वर्ष ५० वर्षीया मधु रेग्मी पक्राउ परेकी छन् । उनले होस्टलमा बसेका तीन जना छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

मङ्गलबार साँझमा विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात गर्दै रेग्मीले दुव्र्यवहार गरेको आरोप छ । उनले छात्रामाथि गरेको दुव्र्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि पीडित छात्राले उजुरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ परेकी रेग्मीलाई मोरङ प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

होस्टेलमा बसिरहेका विद्यार्थीहरूले अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरूका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् । दुव्र्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुर घर भएका विद्यार्थी हुन् । उनीहरू उक्त होस्टेलमा ३ फागुनदेखि बसिरहेका थिए । उनीहरूले ३ चैतसम्मका लागि अग्रिम ८ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरूको सूचीमा भर्खरै उनीहरूको पनि नाम निस्किएको थियो । उनीहरूले बुधबारदेखि कलेजको होस्टेलमा बस्ने तयारी गरेका थिए । त्यसैले उनीहरू मुनलाइट गल्र्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए ।

३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक रेग्मीले ती विद्यार्थीसँग एड्भान्स भन्दै थप तीन–तीन हजार रुपैयाँ मागेपछि उनीहरूले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सञ्चालकले हातपात गरेकी थिइन् । रेग्मीले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरूले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि मङ्गलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीहरूलाई आफ्नै होस्टेलमा ल्याएर राखेको छ ।

विराटनगर नर्सिङ कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरूमाथि अमानवीय व्यवहार भएको बताइन् । ‘मङ्गलबार पढेर गएपछि होस्टेलमा बसेका विद्यार्थीहरूमाथि अमानवीय व्यवहार भएको भिडियोमा देखिएको छ । त्यसपछि बेलुका हामीले विद्यार्थीलाई कलेजको होस्टेलमा ल्याएका छौँ’ कलेज प्रमुख भण्डारीले भनिन्, ‘अमानवीय व्यवहारका भिडियो भाइरल भएको छ । सञ्चालकविरुद्ध प्रहरीमा उजुरी पनि दिएका छौँ ।’

चैत ३ सम्म अग्रिम होस्टल शुल्क बुझाएका विद्यार्थीलाई अगाडि नै पैसा मागेको र नदिँदा अमानवीय व्यवहार गरेको भण्डारीले बताइन् । होस्टेल सञ्चालकको व्यवहारका कारण विद्यार्थी आत्तिएको बताउँदै उनले भनिन्, ‘दुई जना बेहोस पनि भए । विद्यार्थीहरू डराइरहेका छन्, उनीहरूलाई सम्झाइरहेका छौँ । उनीहरूमाथि अमानवीय व्यवहार भएको छ ।’ उनका अनुसार कलेजको होस्टेलमा बस्न नयाँ २३ जना विद्यार्थीको नाम निस्किएको छ । टाढाका विद्यार्थीलाई कलेजको होस्टेलमा बस्न प्राथमिकता दिइएको बताउँदै उनले मुनलाइन होस्टेलमा अमानवीय व्यवहारमा परेका तीन जना विद्यार्थीहरू पनि कलेजको होस्टेलमा बस्नेहरूको सूचीमा छन् ।

के छ भाइरल भएको भिडियोमा ?
सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा होस्टेल सञ्चालक रेग्मीले एउटा कोठाभित्र बसेका छात्राहरूसँग तीन–तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ । लगत्तै उनी जङ्गिँदै होस्टेलबाट ‘निस्किहाल’ भन्दै जाइलागेको देखिन्छ । त्यही कोठाभित्र रहेका अन्य दुई छात्राले रोक्न खोजेको देखिन्छ तर, सक्दैनन् ।

विद्यार्थीहरू क्याम्पसको होस्टेलमा पर्याप्त कोठाको व्यवस्थापन नभएसम्मको लागि बाहिरी होस्टेलमा बस्दै आइरहेका थिए । क्याम्पसले चाँडै होस्टेलमा कोठाको व्यवस्थापन गरी विद्यार्थीहरूलाई स्थानान्तरण गर्ने सूचना प्रकाशन गरेपछि रेग्मीलाई चैत महिनाको रकम अग्रिम बुझाउन अस्वीकार गर्दा उनीहरूमाथि दुव्र्यवहार भएको थियो । होस्टेल सञ्चालिका रेग्मीले विद्यार्थीलाई डर, धम्की देखाउँदै चैत महिनाको अग्रिम रकम बुझाउन दबाव दिएकी थिइन् । होस्टेलमा बसेका विद्यार्थीलाई लागीगलौज गर्ने, अपशब्द बोल्दै हातपात गर्ने, लछारपछार गर्ने र सरसामान बाहिर फाल्नेजस्ता अमानवीय कार्य गरेको भिडियोमा देखिन्छ ।

अभद्र व्यवहारमा सजाय  ?
मुलुकी अपराध संहिताको दफा ११८ मा अभद्र व्यवहार गर्न नहुने भन्ने उल्लेख गरिएको छ । उक्त दफामा ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिकरूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन’ भन्ने उल्लेख गरेको छ ।

यसरी प्रहरीले कुनै व्यक्तिमाथि अभद्र व्यवहारको मुद्दा चलाउन लागेमा त्यसका लागि प्रमुख जिल्ला अधिकारीबाट आदेश लिनुपर्ने हुन्छ वा म्याद थप गर्नुपरेमा पनि प्रमुख जिल्ला अधिकारीबाट नै म्याद थप गर्ने कानूनी व्यवस्था छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ को उपदफा २ मा अभद्र व्यवहार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना गराउन सक्ने कानूनी व्यवस्था छ । कानूनतः एक वर्षसम्म कैद सजाय हुने मुद्दाको किनारा प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछन् । यद्यपि अभद्र व्यवहारका अधिकांश मुद्दामा आरोपीलाई माफी मगाएर छाडिने गरिएको छ ।

कारबाहीको माग
छात्राहरूमाथि अमानवीय व्यवहार गर्ने विराटनगरस्थित मुनलाइट गल्र्स होस्टेलकी सञ्चालिका मधु रेग्मीलाई कारबाही गर्न विद्यार्थी सङ्गठनहरूले माग राखेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन नर्सिङ क्याम्पस इकाई समिति विराटनगर, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथि दुव्र्यवहार गर्ने रेग्मीलाई कडा कारबाहीको माग गरेको हो ।

विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई भेटेर पक्राउ परेकी होस्टेल सञ्चालिका रेग्मीलाई कडा कारबाहीको माग राखेका छन् । सञ्चालिका रेग्मीले विद्यार्थीहरूलाई गरेको अमानवीय व्यवहारप्रति स्ववियुले निन्दा र भत्र्सनासमेत गरेको छ ।