इटहरी । वि.सं. २०६४ साल चैत ५ गते सुनसरीको इटहरीका हार्डवेयर व्यवसायी कैलाश अग्रवाल र श्रीमती कान्तादेवीको वीभत्स हत्या भएको थियो । हत्या भएको १६ वर्ष बित्न लाग्दा पनि अपराधी अझै पत्ता लागेको छैन । घरभित्रै सुनियोजित ढङ्गबाट भएको अग्रवाल दम्पती हत्या काण्ड बेला–बेला चर्चामा आइरहन्छ । तर, पीडामा परेका आफन्तहरूले न्याय भने अझै पाएका छैनन् । त्यो बेला इटहरीमा प्रहरी प्रमुखको रूपमा प्रहरी निरीक्षक विश्वमणि पोख्रेल थिए । विभिन्न काण्ड र विवादै विवादले इटहरीको यो हत्याकाण्ड अहिलेसम्म पनि ओझेलमा छ । घटनाको रहस्य र दोषी अझै पत्ता लागेको छैन ।

विगत २०७२ फागुन २० गते इटहरीकै एक विपन्न परिवारमा हुर्किएकी १४ वर्षीया बालिका सपना भुजेलको वीभत्स हत्या भयो । हत्या भएको ८ वर्ष बितिसक्दा पनि प्रहरी प्रशासनले अभियुक्तलाई पक्राउ गर्न नसक्दा उक्त हत्याकाण्ड पनि त्यत्तिकै ओझेलमा परेको छ । सुरुवाती समयमा विभिन्न महिला समूहले हत्याको विरोधमा आवाज उठाए पनि बोलिदिने मान्छे नै नहुँदा त्यतिकै सेलाउन पुगेको छ ।

त्योबेला इटहरी प्रहरीमा नेपाल प्रहरीको अपराध अनुसन्धानमा राम्रो नाम कमाएर चर्चामा आएका तत्कालीन डिएसपी ओम अधिकारी रहेका थिए । उनले घटनालाई नजिकबाट अनुसन्धान गरेको बताउँदै अभियुक्त पक्राउ गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । उनकै पालामा सपना भुजेल हत्याकाण्डका दोषी पत्ता लाग्ने र परिवारले न्याय पाउनेमा आफन्त र नगरवासीको आशा थियो तर, उनी पनि सरुवा भएर गएपछि घटना त्यतिकै सेलायो । उनका आफन्तले घटना पनि बिर्सिसकेका छन् भने न्यायको आशा पनि मारिसकेका छन् । ‘अब कुनै आश छैन’–आफन्त नगेन्द्र भुजेल भन्छन् । नातामा काका पर्ने उनी भुजेलको न्यायको लागि प्रहरीको लाठीसमेत खाएको बताउँछन् । उनी भन्छन्, ‘न्याय पाइन्छ कि भन्ने आशामा अदालतदेखि प्रहरी कार्यालय धाउनुसम्म धाइयो तर, अब त आशै मरिसक्यो ।’

वि.सं. २०७४ असार १३ गते इटहरी उपमहानगरपालिका–४ स्थित अग्र्यानिक रेष्टुरेन्टमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन् । पोखरीमा डुबेको अवस्थामा फेला परेकी २९ वर्षीया रञ्जु ठकुरीको हत्या भएको भन्दै पूर्वजर्नेल कुमार फुदोङमाथि हिंसात्मक आक्रमण भएको थियो । महिलाको धेरैले हत्या भएको दाबी गरे पनि प्रहरीले घटना के हो ? खुलाउन नसक्दा आजसम्म पनि घटना रहस्यमै छ ।

त्यतिबेला इलाका प्रहरी कार्यालयमा डिएसपी नरेशराज सुवेदी थिए । घटनाको अनुसन्धान सुरु गरे पनि मुख्य चुरो पत्ता लगाउन नसक्दा अहिले त्यो घटना त्यतिकै सेलाउन पुगेको छ । यता  इलाका प्रहरी कार्यालय इटहरीमा गत भदौ तेस्रो सातादेखि कार्यभार सम्हालेका डिएसपी टेकबहादुर कार्कीले घटनाबारे अनुसन्धान गर्ने बताए पनि अहिलेसम्म चासो देखाएका छैनन् । डिएसपी कार्कीले १४ वर्षअघिको अग्रवाल दम्पती हत्याकाण्डलगायत चर्चित तीनैवटा हत्याकाण्डको पनि फाइल खोलेर अनुसन्धान गर्ने पत्रकार भेटघाटमा बताएका थिए । उनी यी हत्याकाण्डको अनुसन्धान जारी नै रहेको बताउँछन् ।

लागूऔषध प्रमुख चुनौती
गत असोजदेखि माघ मसान्तसम्मको प्रहरी विवरणले विगतको तुलनामा सुरक्षामा सुधार आएको भन्ने देखाएको छ । लागूऔषध न्यूनीकरण, गुण्डागर्दी, चोरी तथा लुटपाटका घटनाहरु त्यति भएका छैनन् ।

डिएसपी टेकबहादुर कार्कीले इटहरीको मुख्य चुनौती लागूऔषध कारोबार रहेको बताए । चारैतिरको बीच भागमा पर्ने सहर इटहरी पछिल्लो समय लागूऔषध दुव्र्यसनी र कारोबारीहरुको अड्डा जस्तै बनिसकेको डिएसपी कार्की बताउँछन् । आफूले कार्यभार सम्हालेको ५ महिनामा थुप्रै प्रयोगकर्ताहरुलाई पक्राउ गरी केहीलाई लागूऔषध ऐनअनुसार मुद्धा चलाई कानूनको दायरामा ल्याएको र केहीलाई सुधार केन्द्र पठाएको पनि उनले बताए ।

उनले इटहरीमा ठगीसम्बन्धी मुद्धाहरु पनि धेरै आउने गरेको बताए । एक सातामा २७ वटासम्म ठगीका उजुरी आउने गरेको बताउँदै उनले त्यसलाई छलफल र प्रकृति हेरेर मेलमिलाप वा मुद्धाबाटै किनारा लगाउने गरिएको पनि बताए ।