धरान । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ घर भई खाँदबारी नगरपालिका–७ मा बस्दै आएका ३१ वर्षीय मंशिरे शेर्पालाई बिनाकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सिलिचोङ गाउँपालिका–२ घर भई शेर्पासँगै बस्दै आएकी २६ वर्षीया बिनाकुमारी राई र शेर्पाबीच फागुन १८ गते घरायसी विषयमा विवाद हुँदा रिसको आवेगमा शेर्पाले जथाभावी कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पालाई खोजतलास गर्ने क्रममा फागुन २४ गते सङ्खुवासभा नगरपालिका–७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।