धरान । इटहरीस्थित बूढी जमुना मुक्तिघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ ।

कोशी प्रदेशमै पहिलो पटक इटहरीमा इलेक्ट्रिक दाहसंस्कार स्थल बन्न लागेको हो । इटहरी उपमहानगर र कोशी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतीय शवदाह निर्माण हुने पक्का भएको छ । यही आर्थिक वर्षमा काम सकिने गरी काम अगाडि बढाइने भएको छ ।

बिहीबार कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती र इटहरी उपमहानगरका नगर प्रमुख  हेमकर्ण पौडेलको उपस्थितमा इटहरी–४ मा रहेको बूढीजमुना मुक्तिघाट इटहरीको किनारमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो । विपन्न तथा गरिबहरूलाई महँगो पर्ने र समय पनि धेरै लाग्ने भएपछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका नगर प्रमुख पौडेलले बताए ।

दाउराले जलाउँदा दुई–तीन घण्टा लाग्ने भए पनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लाश जलिसक्नेछ । इटहरीमा सुविधा सम्पन्न विद्युतीय शवदाह निर्माण गर्न इटहरीका नगर प्रमुख पौडेलले पटक–पटक प्रदेश सरकार र सङ्घीय सरकारलाई आग्रह गर्दै आएका थिए । इटहरी उपमहानगरले घरदेखि घाटसम्म स्थानीय सरकार भन्ने नारालाई सफल बनाउन विद्युतीय शवदाह कोसेढुङ्गा साबित हुने र इटहरीको एउटा आवश्यकता पूरा हुने दाबी नगर प्रमुख पौडेलको छ ।

कोशी प्रदेशमै पहिलो पटक इटहरी उपमहानगर र प्रदेश सरकारको संयुक्त लगानीमा विद्युतीय शवदाह निर्माण गरी सञ्चालन तथा व्यवस्थापन इटहरी उपमहानगरले नै गर्ने जानकारीसमेत नगर प्रमुख पौडेलले दिए ।

अहिले इटहरीको बूढीजमुना मुक्ति घाटमा दैनिक सरदर ५ वटा शवको दाहसंस्कार हुने गरेको छ । विद्युतीय शवदाह स्थल करिब ३ करोड ५० लाखको लागतमा बन्नेछ । कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको र तत्काल विद्युतीय शवदाह निर्माण सुरु गर्ने गरी दुवै सरकारको संयन्त्र सम्मिलित प्राविधिक समितिसमेत गठन गरिएको छ ।