शक्तिशाली आँधीका कारण पूर्वी अस्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीहरूले बुधबार बताएका छन्।

भिक्टोरिया राज्यको ठूलो भूभागमा मङ्गलबार खराब मौसमका कारण १५० किलोमिटर प्रतिघण्टा (९० माइल प्रतिघण्टा) भन्दा बढीको हुरी चलेको राज्य सरकार र आपतकालीन सेवाहरूले बताएका छन्।भिक्टोरिया प्रहरीले एक विज्ञप्ति जारी गर्दै ५० वर्षीय एक डेरी किसानको छतमा काम गर्ने क्रममा उडेको भग्नावशेषले किचेर मृत्यु भएको जनाएको छ।

आँधीका कारण मेलबर्नको पश्चिममा रहेको ग्रामपियन क्षेत्रमा पनि डढेलो लागेको र एउटा सानो सहरका केही घर टहरा जलेर नष्ट भएको राज्यको अग्नि नियन्त्रण प्राधिकरणले जनाएको छ। अष्ट्रेलियाली इन्धन बजार सञ्चालकका अनुसार आँधीका कारण शुरूमा पाँच लाख ३० हजार घर परिवार तथा व्यवसाय विद्युत्विहीन बनेका छन्। बुधबार दिउँसोसम्म पनि करिब एक लाख ७४ हजार घर परिवार विद्युत् सेवाबाट बञ्चित भएको बताइएको छ।

प्राधिकरणले भनेको छ, “व्यापक क्षतिको मात्रालाई ध्यानमा राख्दै प्रभावित सबैलाई पुन विद्युत सेवा सञ्चालन गर्न केही दिन लाग्न सक्ने देखिन्छ ।”हावाहुरीले घरका छाना उडाएको, रुख र बिजुलीका खम्बाहरू ढलाएको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरूमा देखिएको छ । 

राज्यको ऊर्जा प्राधिकरणका अनुसार ढलेको ट्रान्समिसन टावरका कारण भिक्टोरियाको सबैभन्दा ठूलो बिजुली जेनेरेटर लोय याङ ए बन्द भएको छ भने यसलाई अहिले ग्रिडमा पुनः जडान गर्ने काम भइरहेको छ। 

भिक्टोरियाका ऊर्जामन्त्री लिली डी एम्ब्रोसियोले भने, “यो राज्यको इतिहासमा सबैभन्दा ठूलो विद्युत सेवा अवरोध घटनामध्ये एक हो। भिक्टोरिया राज्यका आपतकालीन व्यवस्थापन आयुक्त रिक नुगेन्टले चट्याङका कारण भिक्टोरियामा ‘धेरै पटक आगलागी’ भएको बताए। नुगेन्टले पत्रकार सम्मेलनमा भने, “अति प्रभावित ग्रामपियन क्षेत्रमा आगोको ज्वालाले पोमोनलमा ‘धेरै आवासीय घरहरू’ जलाएको छ। ती घरहरूमा सयौँ बासिन्दाहरू बसोबास गर्दै आएका थिए। 

मेलबर्नको द एज पत्रिकामा प्रकाशित एक रिपोर्टअनुसार कति घरमा क्षति भयो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको राज्यका अग्निनियन्त्रक अधिकारीले बताएका छन्। भिक्टोरियाली अधिकारीहरूले राज्यभर डढेलो र मौसमको चेतावनी कम गरिएकाले विद्युत आपूर्ति सुचारु गर्न र आगलागीबाट भएको क्षतिको पूर्ण मात्रा पत्ता लगाउन काम गरिरहेको बताएका छन्।