- मुटुको उपचार सेवा हुने भनेर तामझामको साथ उद्घाटन गरिएको केन्द्रमा प्रेसर घटाउन पनि बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता
- टिएमटीको बोर्ड छ, उपकरण नभएर सेवा छैन
- मुटु रोग विशेषज्ञ चिकित्सक थप नहुँदा एक जना डाक्टरले ओपिडी र इको पनि आफै गर्दै, बिरामीले पाए सास्ती
- जनशक्तिको अभाव झेल्दै शैलजा आचार्य हृदय रोग केन्द्र


विराटनगर । विराटनगर–५ घर भएका ५० वर्षीय डिल्ली प्रसाईं छाती दुखेपछि गत सोमबार विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्र आइपुगे । उनले ओपिडीमा मुटुरोश विशेषज्ञ डाक्टर सर्वेश झालाई देखाए । उनको पे्रसर १८०–१२० थियो ।

तत्काल प्रेसर डाउन गराएर थप उपचार गरिनुपर्ने भयो । त्यसको लागि इन्जेक्सनमार्फत् औषधि दिएर पे्रसर नियन्त्रण गर्नुपर्ने चिकित्सकले बताए । तर, शैलजा आचार्य हृदय रोग केन्द्रमा आकस्मिक सेवा नहुँदा कोशी अस्पताल रेफर गरियो । मधेश प्रदेशअन्तर्गत सिरहाका ७० वर्षीय श्याम महतोलाई हृदयाघात भएपछि शैलजा आचार्य हृदय रोग केन्द्रमा ल्याइयो । एम्बुलेन्समा अक्सिजन लगाएर ल्याइएका महतोलाई तत्काल एन्जियोग्राफी गरेर उपचार गनिुपर्ने देखियो । उनका आफन्तका अनुसार शैलजा आचार्य हृदय रोग केन्द्रमा मुटुको सम्पूर्ण उपचार हुने सुनेकाले केन्द्रमा आएको हौँ । तर, यहाँ त मुटुको ओपिडी सेवा मात्र हुने जानकारी गराएपछि क्याथ ल्याव भएको हस्पिटल पठाइदिएको आफन्त बताउँछन् ।

दैनिक ८ जनासम्म रेफर
उक्त केन्द्रमा दैनिक ३० देखि ४० जनासम्म बिरामी सेवा लिन आउने गरेको केन्द्रले जनाएको छ । तर, आएकामध्ये गम्भीर प्रकृतिका बिरामीलाई रेफर गर्ने गरिएको अस्पतालकै चिकित्सक बताउँछन् । सामान्यखालका बिरामीको उपचार हुने भए पनि गम्भीरखालका बिरामीलाई अन्य अस्पतालमा पठाउने गरेको स्वास्थ्यकर्मी नै बताउँछन् । दैनिक ५ देखि ८ जनासम्म बिरामी रेफर गर्ने गरिएको छ ।

टिएमटीको बोर्ड छ, उपकरण छैन
केन्द्रमा माघ ८ गतेदेखि २२ गतेसम्म तीन सय ७० जनाले ओपिडीमा स्वास्थ्य जाँच गराएको रेकर्ड भेटिन्छ । इसिजी तीन सय ६३, इको एक सय २१, हल्टर (मुटुको चाल मापन गर्ने) १२ जनाले जाँच गराएको अस्पतालको अभिलेखमा छ । अस्पतालले निदानात्मक सेवाअन्तर्गत टिएमटीको बोर्ड पनि झुण्ड्याइएको छ तर, उपकरण अभावमा सेवा सुरु भएको छैन । टिएमटी जाँच गरेपछि बिरामीको एन्जियोग्राफी गर्नुपर्छ कि पर्दै भनेर थाहा हुने चिकित्सक बताउँछन् । टिएमटी एक हप्ताभित्र आउने कोशी स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवाकोटाले बताइन् । ‘आपूर्ति व्यवस्थापन केन्द्रले खरिद प्रक्रिया अगाडि बढाएको छ’ उनले भनिन्, ‘अबको एक हप्ताभित्रमा टिएमटी आइसक्छ अनि सेवा सुचारु हुनेछ ।’

कोशीमा २ लाखभन्दा बढी मुटु रोगी
कोशी प्रदेशमा मुटु रोगी २ लाखभन्दा बढी छन् । उनीहरूको लागि सेवा विस्तार हुनु सुखद् कुरा हो । तर, भइरहेका सरकारी अस्पताल राम्रो व्यवस्थापन नहुँदा बन्द हुने अवस्थामा पुगिरहँदा हृदय रोग उपचार केन्द्रको भविष्य कस्तो होला भनेर चर्चा हुनु स्वभाविक देखिन्छ । ‘मुटुको अप्रेसनसम्मको सेवा सञ्चालन गर्नका लागि भने क्याथ ल्याव चाहिन्छ । त्यही प्रकारका महँगा मेसिन चाहिन्छ । त्यसका लागि झण्डै १२ करोड रुपैयाँ चाहिन्छ’–डाक्टर झाले भने । प्रदेश सरकारले हालका लागि छुट्याएको ५ करोड ५० लाख बजेटले ओपिडी सेवा सञ्चालन गर्नेबाहेक अरू केही गर्न सक्ने अवस्था देखिँदैन । जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले छात्रवृत्ति दिएर भए पनि डाक्टर उत्पादन गर्ने मुख्यमन्त्री केदार कार्कीले कार्यक्रममा बताउने गरेका छन् ।

एक मात्रै चिकित्सक
अस्पताल उद्घाटन भएको दुई हप्तासम्म मुटुरोग विशेषज्ञ दुईजना रहेका थिए । गत आइतबारदेखि डा. झा मात्र रहेका छन् । एकजना मात्र मुटुरोग विशेषज्ञ चिकित्सक हुँदा अस्पतालको सेवा प्रवाहमा कठिनाइ हुने गरेको यहाँका स्वास्थ्यकर्मी बताउँछन् । ४० देखि ५० जना बिरामीको स्वास्थ्य परीक्षण गर्दा १० देखि २० जनासम्मको इको गर्नुपर्ने खालका बिरामी आउने गरेका छन् । एकजना बिरामीको इको गर्न १५ देखि २० मिनेट लाग्ने चिकित्सक बताउँछन् । एक हप्तादेखि एक जना मात्र मुटुरोग चिकित्सकले ओपिडी र इको दुवै तिर सेवा प्रदान गर्दै आएका छन् । 

कोशीका मुख्यमन्त्री केदार कार्कीले सरकार बनेको एक सय दिनको अवसर पारेर शैलजा आचार्य हृदय रोग केन्द्र ८ माघमा उद्घाटन गरे । तामझामका साथ उद्घाटन समारोहकै लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । विराटनगर–१४ मा यसअघि नेसनल ट्रेडिङको गोदामघर रहेको स्थानमा उपचार केन्द्र स्थापना गरिएको हो । कोभिड सङ्क्रमण तीव्र रूपमा फैलिएपछि २०७६ साल चैत ७ गते प्रदेश सरकारले सो स्थानमा ५० शøयाको कोशी अस्पताल (कोभिड १९ उपचार केन्द्र) बनाएर सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

कोभिडको महामारी कम हुँदै गएपछि प्रदेश सरकारले केन्द्रलाई प्रादेशिक प्रसूति तथा स्त्रीरोग अस्पताल बनाउने भन्दै अध्ययन गर्यो । तर, त्यहाँ प्रसूति तथा स्त्रीरोग अस्पताल बनेन । फेरि सङ्क्रामक रोग उपचार केन्द्र बनाउने चर्चा भयो । सोही बमोजिम २०७९ साल भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णयमार्फत् उक्त ठाउँमा सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र बनाइयो । अहिले केदार कार्की नेतृत्वको सरकारले सोही अस्पताललाई शैलजा आचार्य हृदय रोग केन्द्रको रूपमा उद्घाटन गरेको हो । जसका लागि ५ करोड ५० लाख बजेट विनियोजन भएको छ । पटक–पटक निर्णय र योजना फेरबदल हुँदै पछिल्लो समय हृदयरोग उपचार केन्द्रका रूपमा उद्घाटन भएको यो अस्पतालको भविष्यबारे टिप्पणी हुन थालेको छ ।

साविकको कोभिड उपचार केन्द्रमा १ सय ७५ जनाको दरबन्दी थियो । घट्दै गएर अहिले त्यहाँ ४२ जना कर्मचारीको दरबन्दी छ । प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले विस्तारै अस्पतालको विकास गरिने बताइन् । ओएनएम गरेर दरबन्दीअनुसारको चिकित्सक आएपछि जनशक्ति अभाव हटेर जाने उनले बताइन् । ‘अहिले ओएनएम गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने तयारी गरिएको छ’–उनले भनिन् । अहिले डाक्टर समिर पौडेल र डाक्टर सर्वेश झाले विशेषज्ञ ओपिडी सेवा दिने उनको भनाइ छ । तर, पौडेल सधैँ नबस्ने भएकाले सरकारले अर्को व्यवस्था गर्ने उनको भनाइ छ । एक हप्ता पौडेल बसेपछि उनी काठमाडौँ फर्किएका छन् । ‘अर्को डाक्टरको व्यवस्था नगर्दासम्म वीर अस्पतालबाट अल्टरनेट डाक्टरहरू आएर सेवा दिनुहुन्छ’ उनले भनिन्, ‘हामी आफैले पनि डाक्टर राख्न आवश्यक प्रक्रिया पूरा गर्नेछौँ । अहिले हामीले ओपिडीबाट सेवा सञ्चालन गरेका छौँ । विस्तारै यसलाई विकास गर्दै जाने हो । अहिले त्यहाँ भएका कर्मचारीलाई नै ओएनएम गरेर काम लगाएको हो । विस्तारै हामी कर्मचारी पनि हस्तान्तरण गर्छौं ।’

डाक्टर झा यसअघि कोशी अस्पताल विकास समितिमार्फत् कोशी अस्पतालमै सेवा दिँदै आएका डाक्टर हुन् । उनी हाल हृदयरोग केन्द्रमा सरेका छन् । कोशी अस्पतालमा भने उक्त सेवा अब बन्द हुने भएको छ । हालका लागि उक्त केन्द्रमा ३ जना मेडिकल अफिसर, एक जना एमडीजीपी, १ जना फिजिसियनको दरबन्दी छ । २ जना थप मुटुरोग विशेषज्ञ चाहिने डाक्टर झाले बताए । हाल ओपिडी र सामान्य परीक्षणमात्रै हुन्छ । मुटु रोगीले ओपिडीबाहेक सबै सेवा तत्कालै सो अस्पतालबाट पाउने अवस्था छैन ।