धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति डा. प्रह्लाद कार्कीले शिक्षकहरूलाई पठन–पाठन सुचारु गर्न अनुरोध गरेका छन् ।

आइतबार का.मु.उपकुलपति कार्कीले एक अपिल पत्रमार्फत् प्रतिष्ठानका शिक्षक कर्मचारीलाई काममा फर्कन अनुरोध गरेका हुन् । कार्कीको अपिल पत्रमा ‘प्रतिष्ठानको वर्तमान अवस्थाप्रति हामी सबै गम्भीर र दुःखित छौँ ।’ प्रतिष्ठानका शिक्षक कर्मचारीले पदोन्नतिको माग राखेको पुस २९ गतेदेखि आकस्मिकबाहेक सम्पूर्ण सेवा र पठन–पाठन ठप्प बनेको छ ।

पदोन्नतिको विषय हाल उच्च अदालत विराटनगरमा विचाराधीन रहेको हुँदा सम्मानित अदालतको आदेश नै सम्पूर्ण प्रतिष्ठान परिवारलाई बाध्यकारी मार्गनिर्देशन हुनेछ’ अपिल पत्रमा भनिएको छ, ‘प्रतिष्ठानका विद्यार्थीहरूको पठन–पाठन सुचारु हुन नसक्नु दुर्भाग्यपूर्ण हो र तत्काल पठन–पाठन सुचारु होस् भनी हामी प्रतिष्ठानका आम शिक्षकहरूलाई निरन्तर अनुरोध गरिरहेका छौँ ।’ शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजसँग निरन्तर औपचारिक एवम् अनौपचारिक संवाद भइरहेको पनि प्रा.डा कार्कीले जनाएका छन् ।

पठन–पाठन सुचारु गर्ने वातावरण बनाउन आफूहरूले निरन्तर प्रयास गरिरहेको अपिल पत्रमा जनाइएको छ । गतवर्ष पुस २० गते प्रकाशित शिक्षक कर्मचारीको आन्तरिक बढ्ुवा प्रक्रियाका सम्बन्धमा उठेका सवालहरूको वैधानिक निकास निकाल्न सञ्चालक परिषद्मा प्रस्तावको रूपमा लगेर प्रतिष्ठानको नियमको अंश बनाई बढुवा प्रक्रिया सुचारु गर्ने अपिल पत्रमा उल्लेख गरिएको छ । ‘पटक–पटक प्रतिबद्धता र असल नियतले प्रतिष्ठान परिवारलाई सम्झाउने हाम्रो प्रयास जारी छ’–विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानका शिक्षक कर्मचारीको बढुवालगायतका महत्त्वपूर्ण विषयहरूमा निर्णय गर्न यही माघ २९ मा सञ्चालक परिषद्को बैठक आह्वान भइसकेको अवस्थामा पठन–पाठन सुचारु गरिदिन प्रतिष्ठानका सम्पूर्ण शिक्षकहरूलाई प्रा.डा. कार्कीले अनुरोध गरेका छन् । विषम परिस्थितिको वैधानिक समाधान खोज्न र विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गर्न प्रतिष्ठान व्यवस्थापन लागिपरेको हुँदा आफ्ना विरोधका कार्यक्रमहरू फिर्ता लिन सम्पूर्ण विद्यार्थीलाई उनले अपिल गरेका छन् ।

शनिबार सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको समन्वयमा प्रतिष्ठानको व्यवस्थापन पक्ष र आन्दोलनरत पक्षबीच सहमति हुन नसकेपश्चात् प्रा.डा. कार्कीले अपिल गरेका हुन् । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार उपकुलपति प्रा.डा. कार्की सहमत भएका छन् । थोरै कुरामा सहमति नजुटेकाले हस्ताक्षर हुन नसकेको उनले बताए । आइतबार सहमतिमा हस्ताक्षर गर्ने भनिए पनि हस्ताक्षर हुन सकेको छैन ।