क्यान्सर रोग नेपालमा विकराल समस्याका रुपमा बढिरहेको छ । नेपालमा बर्सेनि २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने गरेको र त्यसमध्ये करिब १५ हजारको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क पाइन्छ । यही तथ्याङ्कलाई आधार मान्दा पनि क्यान्सरका कारण नेपालमा दैनिक ४१ जनाको ज्यान गइरहेको छ । यसले क्यान्सर समुदायमा भुसको आगोसरी फैलिरहेको बुझ्न सकिन्छ । समुदायमा खोज्ने हो भने क्यान्सरका बिरामी घरघरै भेटिन सक्छन् । हाम्रो जीवनशैली र खानपिनका कारण क्यान्सरको जोखिम बढिरहेको छ । विशेषज्ञहरुले जीवनशैली सुधार गर्न आग्रह गरे पनि समाजमा स्वास्थ्यप्रति ध्यान नदिइँदा समस्या बढ्दै गएको छ । 

विज्ञहरुका अनुसार अत्यधिक धूमपान तथा मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको सङ्क्रमण तथा वंशाणुगतलगायत कारणले क्यान्सर रोग नित्याउँछ । फास्टफुड, जङ्कफुड, धूमपान, मद्यपान, पोलेको मासु खाने, व्यायाम नगर्ने, सडेगलेका तथा बासी खानेकुरा खाँदा क्यान्सर हुने सम्भावना धेरै हुने गरेको चिकित्सकले बताउँदै आएका छन् । चिकित्सक तथा स्वास्थ्य क्षेत्रका विज्ञहरुले पटक–पटक सचेत रहन आग्रह गर्दै चेतावनी दिएपनि रोग लाग्ने क्रम बढिरहनुले समाजमा जनचेतनाको अभाव रहेको प्रष्ट हुन्छ ।

समाज सचेत बन्न नसक्नुमा एउटा व्यक्ति वा परिवार मात्र होइन, समुदायमै समस्या छ भन्ने बुझ्न सकिन्छ । समाजमा भएको समस्या समाधान गर्न तीन तहका सरकार र सरोकारवालाहरुको पनि दायित्व हो । उनीहरुले समाज र देश बनाउन भनेर निर्माण गरेका नीतिहरुमा पनि कमजोरी पक्कै छ । जबसम्म प्रत्येक व्यक्ति सचेत बनेर स्वस्थ जीवनशैली अपनाउँदैन, तबसम्म क्यान्सरको जोखिम उत्तिकै रहन्छ । क्यान्सरविरूद्ध घर–घरमै चेतना जगाउन जरूरी भइसकेको छ । 

क्यान्सर लागिसकेपछि पनि कतिपय बिरामी निको हुने गरेका छन् । तथ्याङ्कअनुसार पहिलो चरणमा बिरामीले क्यान्सर भएको थाहा पाएमा ९० प्रतिशत निको हुने, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा प्रवेश गरेको क्यान्सरको उपचार गर्दा ५० प्रतिशत निको हुने सम्भावना रहन्छ । जति छिटो रोग पत्ता लगाउन सक्यो, त्यति नै चाँडो उपचार गरेर निको हुन सकिने विज्ञले बताएका छन् । त्यसैले रोग पत्ता लाग्ने बित्तिकै उपचारमा ढिलाइ गर्नु हुन्न । त्यसभन्दा पनि मुख्य कुरा त सकेसम्म रोग लाग्नै नदिनु आवश्यक हुन्छ ।

त्यसका लागि धूमपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सन्तुलित र स्वस्थ भोजन खाने, नियमित शारीरिक व्यायाम गर्ने, महिलाले आफ्नो स्तन र पाठेघरको मुखको नियमित परीक्षण गराउने गर्नुपर्दछ । आइतबार विश्वभर क्यान्सर दिवस मनाएर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । वर्षमा एकदिन मात्र होइन, हरेक दिन सचेत रहन सके मात्र क्यान्सरबाट बच्न सकिन्छ । सरोकारवाला निकायले पनि क्यान्सरबारे सचेतना जगाउन ढिला गर्नु हुँदैन । त्यसैले आफ्नो स्वास्थ्यका लागि सबैभन्दा पहिला आफै सचेत बन्नु आवश्यक छ । अरुले सचेत गराउने प्रतिक्षामा होइन, आफै सचेत बनौं ।