चिकित्सक र कर्मचारीको आन्दोलनका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय अस्तव्यस्त अवस्थामा छ । अस्पतालजस्तो संवेदनशील स्थलमा हड्ताल, आन्दोलन गर्नु आफैमा पनि कानूनविपरीत कार्य हो । लामो समयदेखि भइरहेको आन्दोलनका कारण टाढाबाट आउने बिरामीले उपचार पाउन सकेका छैनन् । त्यसमाथि मङ्गलबार प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीमाथि मोबिल प्रहार गर्ने र आक्रमण गर्ने प्रयास भएको छ । कसैले गल्ती कमजोरी गरेमा कानूनी उपचार खोज्ने विकल्प हुँदाहुँदै भौतिक आक्रमणमा उत्रिनु अराजकता हो । प्रतिष्ठानकै चिकित्सक र कर्मचारीले समेत का.मु. उपकुलपति कार्कीलाई प्रतिष्ठानमा आउन प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला उनीमाथि आक्रमणको प्रहार हुनुले यसमा आन्दोलनकारीहरुको संलग्नता पनि छ कि ? भन्ने प्रश्न उठेको छ ।

आन्दोलनकारीले प्रतिष्ठान आउन प्रतिबन्ध लगाउने घोषणा गरेर आन्दोलन चर्काएका बेला आक्रमणको प्रयास हुँदा आन्दोलनकारी माथि शङ्का उत्पन्न हुनु स्वभाविक पनि हो । यद्यपि आन्दोलनकारीले आफूहरुको संलग्नता नरहेको स्पष्टीकरण दिइरहेका छन् । तर, यस विषयमा उनीहरुको संलग्नता छ वा छैन भन्ने बारे अनुसन्धान गरिनु आवश्यक छ । उच्च अदालत विराटनगरले छलफलका लागि दुवै पक्षलाई बोलाइसकेका बेला कानूनी बाटोबाट अघि बढ्नु पर्नेमा आक्रमणमा उत्रिने, बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने काम अपराध सरह नै हो । बढुवा वा नियुक्तिको विषय विशुद्ध प्रशासनिक विषय हो । यससँग बिरामीको कुनै सम्बन्ध छैन । बिरामीलाई त संविधानले नै उपचार पाउने मौलिक हक प्रदान गरेको छ । त्यसैले आन्दोलनकारीले प्रशासनसँग कानूनी हिसाबले बढुवाको माग गर्नु जरूरी छ । बिरामीलाई दुःख दिएर आफ्नो बढुवाको बार्गेनिङ गर्नु कुनै हालतमा सही होइन । त्यसमाथि आक्रमणजस्तो गलत काममा उत्रिनु कदापि सही होइन । जोसुकैले गरे पनि यस्तो काम अराजक हो । प्रतिष्ठानलाई अराजकताबाट जोगाउनु अहिलेको आवश्यकता हो ।

प्रतिष्ठानमा पछिल्लो समय भइरहेका अराजक गतिविधिले कतै प्रतिष्ठान धरासायी बनाएर धरानबाट अन्यत्र सार्ने षड्यन्त्र त भइरहेको छैन ? भन्ने प्रश्न पनि उठ्न थालेको छ बजारमा । यो अवस्था आयो भने धरान फेरि मृत सहरका रुपमा परिणत हुने निश्चित छ । कुनै समय धरान मृत सहरका रुपमा रहेका बेला यही प्रतिष्ठान स्थापना भएपछि धरान बौरिएको थियो । धरानलाई जीवन दिने प्रतिष्ठान अहिले आफै जर्जर बनिरहँदा यहाँका राजनीतिक दल र नेताहरुले कसरी जोगाउन सकिन्छ भन्ने विषयमा बहस गर्नु आवश्यक छ । त्यस विषयमा यहाँका दलहरुले सोच्न जति ढिलो ग¥यो, प्रतिष्ठान त्यति नै धरासायी बन्ने निश्चित छ । प्रतिष्ठानमा सबैभन्दा पहिले यस्ता अराजक हर्कतहरु बन्द हुनु आवश्यक छ । सरकारले पनि यो विषयमा कदम चाल्न ढिलो गर्नु हुँदैन ।