विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठक सुरु भएको तीन दिन भए तापनि निष्कर्ष निस्किएको छैन । बैठकको निष्कर्ष ननिस्कँदै प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्की बाहिरिएका छन् भने मन्त्रालयका प्रतिनिधि फर्किएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोस्रो निर्देशनपश्चात् सोमबारदेखि बैठक सुरु भएको हो । प्रतिष्ठानका रजिष्ट्रार सूर्य सङ्ग्रौलाले भने, ‘बैठक बसिरहेको छ । छलफल भइरहेको छ । नतिजा निस्कएन ।’ तर, कार्यकारिणी समितिको बैठकले निष्कर्ष ननिकाल्दै मन्त्रालयका प्रतिनिधि फर्किएछन् जिज्ञासामा रजिष्ट्रार सङ्ग्रौलाले भने, ‘उहाँ सदस्य हो । काम सकिएर फर्किनुभयो ।’ उनका अनुसार सिनयर सदस्यहरूको बैठक बस्नेछ । तर,  का.मु. उपकुलपति प्रा.डा. कार्की नै बैठक हलबाट बाहिरिएपछि कसरी बैठक बस्छ ? रजिष्ट्रार सङ्ग्रौलाले भने, ‘घर जानुभएको छ । आउनु होला ।’

सोमबार बेलुका सुरक्षा घेराभित्र बैठक सुरु भएको थियो । तर, दोस्रो दिन पनि बैठकको निष्कर्ष निस्किएन । बैठक हलबाट बाहिर आन्दोलनरत चिकित्सक कर्मचारी धर्ना बसिरहेका छन् । शिक्षक कर्मचारीले अत्यावश्यकबाहेकका सेवा बहिष्कार गर्दा बिरामीले सास्ती पाइरहेका छन् भने विद्यार्थीको अध्ययन अध्यापनमा पनि असर परिरहेको छ । प्रतिष्ठानका कर्मचारीको १६ वर्ष र शिक्षकको ६ वर्षदेखि पदोन्नति भएको छैन । २०७९ पुस २० र २५ गते आन्तरिक बढुवाका लागि सूचना प्रकाशित गरी प्रक्रिया अघि बढेको थियो ।

२०८० असार ५ गते प्रतिष्ठानको का.मु. उपकुलपतिमा प्रा.डा. कार्की नियुक्त भएपछि बढुवा प्रक्रिया रोकिएको थियो । त्यसपछि आन्दोलित शिक्षक कर्मचारीसँग २०८० कात्तिक २० गते एउटा सहमति भएको थियोे । प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत शिक्षक, कर्मचारीबीच २०८० पुस २ गतेदेखि अन्तरवार्ता सुरु गर्ने सहमति भयो । तर, प्रक्रिया अघि बढेन । त्यसपछि कर्मचारी र शिक्षकले पुनः आन्दोलन चर्काएपछि पुस २९ गतेदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।