धरान । ‘बिनायो बज्यो ओठैले’ बोलको साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

किरात राई कलाकार सङ्घ सुनसरीको तेस्रो साङ्गीतिक कोसेलीका रूपमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गायक तथा सङ्गीतकार मिलन राईको शब्द÷सङ्गीत रहेको उक्त गीतमा चन्द्र बान्तावा, वसन्त बान्तावा, हेमन चाम्लिङ, सुनिता नाम्नु राई, जयकला राई, उमा चाम्लिङ र दिलु राईको स्वर रहेको छ ।

सोमिया राई र गायक चन्द्र बान्तावाको मुख्य अभिनय रहेको भिडियो आइतबार साँझ धरानमा सार्वजनिक गरिएको थियो । किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले म्युजिक भिडियोको विमोचन गरेका थिए ।

वसन्त बान्तावाको निर्देशन, प्रविन भुजेलको कोरियोग्राफी र पूर्ण सुनुवारको छायाङ्कन रहेको भिडियो अशोक सुनुवारले सम्पादन गरेका हुन् । माया–प्रेमलाई जोडेर साकेला गीतको निर्माण गरिएको गायक तथा सङ्गीतकार मिलन राईले बताए । कलाकार सङ्घले यसअघि चोमोलुङ्मा मुनी र उकाली चढ्नु अक्करको बाटो बोलको वाडाङ्मी गीतको भिडियो बजारमा ल्याएको थियो ।