बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक र कर्मचारीले पदोन्नतिको माग राखेर गरेको आन्दोलनमा प्रतिष्ठानकै कर्मचारी दुई ध्रुवमा देखिएका छन् ।

प्रतिष्ठानको शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाज आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका बेला प्रतिष्ठानकै कर्मचारीका एक समूहले स्वास्थ्य सेवा ठप्प पार्न नहुने भन्दै विरोध जनाएको छ । 

प्रतिष्ठानकै कर्मचारीहरूको कर्मचारी कल्याण तदर्थ समितिका कार्यवाहक अध्यक्ष मदनकुमार हलवाई, महासचिव बालकृष्ण मेहेता र उपाध्यक्ष किरणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी पदोन्नतिको विषयमा भएको आन्दोलनले अस्पताल तथा पठन–पाठनमा दीर्घकालीन असर पर्न जाने उल्लेख गर्दै आन्दोलनको शैली गलत भएको जनाएका छन् ।

स्वास्थ्य र शिक्षाजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्नु गलत भएको चर्चा चलिरहेका बेला कर्मचारी कल्याण तदर्थ समितिले पनि सेवा प्रभावित हुँदा मुद्दा ओझेलमा परेको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि थाती रहेका बढुवा, आर्थिक वर्ष २०७९÷०८० को वृद्धि तलबजस्ता विषयहरूसमेत ओझेलमा पर्ने अवस्था सिर्जना भएमा यसको जिम्मेवार यी कल्याण समाजहरू हुने कि नहुने ?’ 

उनले स्वास्थ्यक्षेत्र बन्द गर्न नपाइने पनि बताए । कार्यसम्पादन सन्तोषजनक नभएकाले कारबाही गरी घटुवासमेत गरेको भन्ने जिज्ञासामा का.वा. अध्यक्ष हलवाईले भने, ‘व्यक्तिगत कुरामा म लाग्दिनँ ।’ 

तदर्थ समितिको विज्ञप्तिमा कर्मचारी र शिक्षक कल्याण समाजको संयुक्त ब्यानरमा उपकुलपतिलाई निषेध गरिएको तथा घोषित वा अघोषितरूपमा प्रतिष्ठान धरासायी हुने गरी बन्द हुन गएकोमा ध्यानाकर्षण भएको उल्लेख छ । प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारीको विगत १०–१५ वर्षदेखि बढुवा नभएर, गत आर्थिक वर्षको वृद्धि भएको तलब नपाएर पीडित भएको उल्लेख गरेका छन् । प्रतिष्ठानको भ्रष्टाचार, अनियमितता, शोषण, अन्याय, अपारदर्शिता जिम्मेवार एक पदाधिकारी मात्र नभई सम्पूर्ण पदाधिकारी र राज्य हुनुपर्ने उल्लेख गरेका छन् ।

उनीहरूले धरान नगरप्रमुख हर्कराज राईले का.मु. उपकुलपति प्रह्लाद कार्कीको कार्यकक्षमा लगाएको तालबन्दीको पनि निन्दा गरेका छन् । विज्ञप्तिमा ‘हठात् स्थानीय सरकार प्रमुखको तर्फबाट गरिएको तालाबन्दी बचपनाभन्दा अरू केही नभएको र कतैबाट परिचालितजस्तो देखिएकोले पीडित शिक्षक कर्मचारीहरूमाथि झन् नुनचुक छर्ने काम भएको छ’–विज्ञप्तिमा भनिएको छ । तदर्थ समितिले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सेवामूलक संस्था बन्द गर्दा दीर्घकालीन असर पर्ने भएकाले बन्द हड्ताल फिर्ता लिई वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेको छ ।

यता कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले आफूहरू बढुवामा नपर्ने भएकाले केही व्यक्ति आन्दोलनविरुद्ध लागेको बताइन् । उनका अनुसार कार्य सम्पादन सन्तोषजनक नभएको, पदाधिकारीलाई गालीगलौज गरी अराजक गतिविधि गरेकाले कारबाही गरिएको थियो । उनले भनिन्, ‘दुई पटक स्पष्टीकरण माग्दैआगामी दिनमा यस्ता गल्ती नदोहो¥याउने कबुलियतनामा गरेकाले माफी दिएको हो ।’ उनले मदन हलवाई प्रतिष्ठानमा जिम्मेवारीविहीन भएको पनि बताइन् । उनले भनिन्, ‘जतिवटा समाज खोले पनि औचित्य रहँदैन ।’ 

आन्दोलनको असरको जिम्मेवारीका विषयमा शिक्षक कल्याण समाजका अध्यक्ष शेराज अहमद खानले तदर्थ समितिको विज्ञप्तिलाई दुई कौडीको संज्ञा दिँदै तदर्थ समितिका केही व्यक्तिको सन्तोषजनक कार्य सम्पादन नहँदा घटुवा भएकोले यस्तो विज्ञप्ति निकालेको बताए । उनले भने, ‘आफ्नो जिम्मेवारी पूरा नगरी कारबाहीमा पर्ने, अनि हामीलाई नैतिकता सिकाउने ?’

तदर्थ समितिका कार्यवाहक अध्यक्ष मदन हलवाईले स्वास्थ्य सेवा बन्द गर्दा नकारात्मक सन्देश फैलिएकाले विज्ञप्ति जारी गरेको बताए । उनले भने, ‘भोलि प्रतिष्ठान नै रहेन भने कहाँ सेवा सुविधा खोज्ने ?’ 


नगर प्रमुखले ताला लगाउनु गलतः मन्त्री लिम्बू

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नगरप्रमुखले नै तालाबन्दी गर्नु गलत भएको युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले बताएका छन् ।

बुधबार नेपाल उद्यमशील महिला महासङ्घले आयोजना गरेको ऊनीका सामग्री बनाउने तालिमको उद्घाटन गर्दै मन्त्री लिम्बूले धरानका नगर प्रमुख हर्कराज राईले बीपीमा लगाएको तालाबन्दीका विषयमा असन्तुष्टि व्यक्त गरे । ‘स्थानीय सरकार प्रमुख आफैले तालाबन्दी गर्ने, आफूलाई नसोधी ताला खोले ठीक हुँदैन भन्नू कतिको न्यायोचित छ ?’  –उनले प्रतिप्रश्न गरे । 

उनले नगर प्रमुख राई बीपी प्रतिष्ठान चलाउने मनस्थितिमा नभई बन्द गर्ने सोचमा रहेको दाबी गरे । ‘प्रतिष्ठानको सिनेट सदस्य आफै भएर ताला लगाउने कस्तो खालको जनप्रतिनिधि छनौट ग¥यो धरानले ?’ –उनले थप प्रश्न गरे । उनले जनप्रतिनिधिले समन्वयकारी भूमिका खेल्नुपर्नेमा द्वन्द्व सिर्जना गरी समस्या उत्पन्न गराएको बताए । बीपी प्रतिष्ठान महŒवपूर्ण मेडिकल शिक्षा प्रदान गर्ने र उपचारको क्षेत्रमा सेवा सुविधा दिने स्थल भएकाले धरानले यसको रक्षा गर्नुपर्ने बताए ।

उनले प्रतिष्ठानको समस्या समाधानमा आफू लागिपरेको बताउँदै भने, ‘चाँडै निष्कर्षमा पुग्छ ।’ मन्त्री लिम्बूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र मुख्य सचिवसँग बुधबार छलफल भएको बताए । उनले महिलाहरूलाई उद्यमशील, सक्षम र सबल बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘नेपाली बजारमा कच्चापदार्थ जे उपलब्ध छ । त्यसलाई व्यावसायीकरण गर्न महिलाको ठूलो हात रहेका छ ।’ उनले आर्थिक सुदृढीकरण गर्न स्थानीय कच्चापदार्थ प्रयोग गरी उत्पादन वृद्धि गरेर बजारीकरण गर्न आग्रह गरे । तालिम धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा माघ १७ गतेसम्म सञ्चालन हुने संस्थाका महासचिव तथा तालिम संयोजक मञ्जु पराजुलीले जानकारी दिइन् ।

उनले तालिममा ४५ जना सहभागी रहेको पनि जनाइन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका सभापति उमेश थापा, कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, यशोधा कायस्थले शुभकामना दिए । यस्तै एकीकृत समाजवादीका धरान अध्यक्ष रेवतीरमण राई, धरान उपमहानगरपालिकाका पूर्व उपप्रमुख मञ्जु भण्डारी सुवेदीले शुभकामना दिए ।

नेपाल उद्यमशील महिला महासङ्घका केन्द्रीय अध्यक्ष राधा कार्कीको अध्यक्षतामा भएको थियो । बिटु गुरुङको अध्यक्षतामा १५ सदस्यीय  नेपाल उद्यमशील महिला महासङ्घ कोशी प्रदेश समिति घोषणा भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मञ्जु श्रेष्ठ, महासचिवमा ज्ञानु थापा, सचिवमा शारदा कोइराला, कोषाध्यक्ष शीला तामाङ चयन भएका छन् । समितिको सदस्यमा एलिना राई, सुमित्रा प्रसाईं थापा, रोजिना कुलुङ राई, रीता लिम्बू, नगेन्द्रकुमारी खत्री, सुन्तला अधिकारी परियार, अम्विका धमला, विमला सुवेदी कार्की, शोभा घिमिरे र रीता राई चयन भएका छन् ।