कोशी प्रदेशमा लगानी गर्न गैरआवासीय नेपालीलाई मुख्यमन्त्री केदार कार्कीले आह्वान गरेका छन् । प्रदेश सरकारले पुँजी, श्रम र प्रविधिको संरक्षण र प्रवर्धन गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए ।

प्रदेशको विकासका लागि गैरआवासीय नेपालीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले प्रदेश सरकारले लगानीको वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री कार्कीले बताए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सहयोग स्वरुप नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई प्रदान गरेको 'रक्त सङ्कलन घुम्ती बस' हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा लगानीका लागि धेरै सम्भावित क्षेत्र रहेको बताए ।  उनले ती क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे ।
'कोशी प्रदेशमा लगानी धेरै सम्भावना छन्, तपाईंहरु लगानी गर्नका लागि आउनुहोस् । सरकारले पुँजी, श्रम र प्रविधिको संरक्षण र प्रवर्धन गर्नेछ,' मुख्यमन्त्री कार्कीले भने । 

मुलुकको विकासका लागि देशभित्र र बाहिर रहने सबै नेपालीको एकता आवश्यक रहेको उनले बताए । गैरआवासीय नेपाली सङ्घले 'रक्त सङ्कलन बस' उपलब्ध गराएकोमा मुख्यमन्त्री कार्कीले धन्यवाद व्यक्त गरे ।

विदेशमा रहे पनि मनमा सधैं नेपाल रहिरहने र नेपालका लागि सक्दो सहयोग तथा लगानी गर्ने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले बताए ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले बस उपलब्ध भएपछि रगत सङ्कलन गर्न सहज हुने बताए ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायत विभिन्न सङ्घ, संस्थाका प्रतिनिधिको सहभागिता थियो ।