हङकङस्थित नेपालीहरुको साझा संस्था द नेप्लिज एसोसिएसन हङकङले बुधबार याउचि मोङ डिस्ट्रिकबाट निर्वाचित भएका एक नेपाली महिलासहित चिनिया मूलका काउन्सिलरहरुलाई एक समारोहबीच सम्मान गरेको छ ।

एसोसिएसनका अध्यक्ष प्रदीप थापाले हङकङमा बस्ने नागरिकको पक्षमा उत्कृष्ट योगदान दिन हौसलास्वरुप पुरुष काउन्सिलरलाई नेपाली ढाकाको टोपी र महिला काउन्सिलहरुलाई सल र माया र सद्भावको चिनो दिएर सम्मान गरेको बताए ।

उनीहरुलाई हङकङस्थित नेपाली दुतावासका महावाणिज्य दूत डा. उदय राना मगरले सम्मान गरेका थिए । डा. रानाले पनि हालै विद्यावारिधि गरेको भन्दै एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल र हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ, च्याबर अफ कमर्सका अध्यक्ष लव कुमार गुरुङ, आदिवासी जनजाति महासंघ हङकङका निवर्तमान अध्यक्ष कृष्णराज लावती, हङकङ नेपाली महासंघका निवर्तमाअध्य टंक रानाले संयुक्त रुपमा सम्मान गरेका थिए ।

भर्खर जन्मेको नेपाली संस्थाबाट सम्मानित भएकोमा चिनिया काउन्सिलरहरुले खुशी व्यक्त गर्दै एकापसमा सद्भावका साथ हङकङको भविष्य बनाउन एकजुट हुनु पर्नेमा जोड दिएको अध्यक्ष थापाले बताए ।

नेपालीहरुको साझा संस्था द नेप्लिज एसोसिएसनले पहिलो पटक राजनितिक नेतृत्वमा रहेका चिनिया मुलका डिस्ट्रिक काउन्सिलरसहित नेपाली मुलका कान्सिलरहरुलाई एकैठाउँ भेला गराएर भव्य स्वागत र सम्मान गरेको हो । निर्वाचित काउन्सिलरहरुलाई सम्मान गरिसकेपछि एसोसिएसनका अध्यक्ष थापाले भने, ‘यो संस्थाको उदेश्य सामाजिक सेवा नै रहेको छ । यो संस्था हङकङमा दर्ता भएपनि नेपालको धरान नजिकैको भेडेटार छेउको छोटीमोरङमा थाउजेन विग बुद्धको सबैभन्दा अग्लो प्रतिमा स्थापना गर्नु हो । पूर्वको पर्यटकीय पूर्वाधार तयार गर्दै हङकङ र धरान (नेपाल)को सम्बन्ध दरिलो बनाउने उदेश्यले यो संस्था दर्ता गरिएको हो । थाउजेन विग बुद्धको प्रतिमा स्थापना गर्ने आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) पनि भर्खरै सम्पन्न भइसकेको छ ।’

सम्मानित हुनेहरुमा हेवुड गुवान, मिस एन उ चोर क्वान, लि का हिन, वेन्जामिन छोयी, क्रिस आइपी, एडमण्ड चुङ, क्यारिग जो, लाउ पाक के वेन्नी यङ, एलेक्स पुन, अरुणा गुरुङलगायत रहेका छन् ।

उक्त अवसरमा डा. दिव्यादर्शन गुरुङ, क्याप्टेन रामसिंह थापालाई पनि सम्मान गरिएको थियो । उक्त अवसरमा हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ, पूर्व अध्यक्षहरु हेजेन राई, टंक राना, नेपाल च्याम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली, हेम पुन,  कुल प्रसाद गुरुङ, डा चुराबहादुर थापा, कृष्णराज लावती, टीका पुनलगायतको उपस्थिति रहेको थियो ।