मंगलबारदेखि आगामी जनवरी २० सम्म आयोजना हुने  ‘गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल कप’ प्रतियोगिताको लागि नेपाली टोली अस्ट्रेलिया पुगेको छ । समूह सी मा रहेको नेपालले मंगलबार पहिलो खेल करिना फुटसल अण्डर १५ विरुद्ध खेल्ने कार्यतालिका रहेको थियो ।

अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यस्थित गोल्डकोस्टमा हुने ‘गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल कप’ प्रतियोगितामा नेपालले पनि सहभागिता जनाएको हो । प्रतियोगितामा सहभागिता जनाउन नेपालको तर्फबाट एन्जल्स हार्ट स्कुल फुटबल क्लबका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गाोल्डकोस्ट पुगेका छन् । 

फुटसलको विभिन्न उमेर समूहमा नेपालसहित भारत, बंगलादेश र न्यूजिल्याण्डको सहभागिता रहेको विद्यालयका खेलकुद संयोजक एवम् टोलीका व्यवस्थापक सुमन तिमल्सिनाले जानकारी दिए । नेपाली टोलीमा आर्यन अधिकारी, निशान थापा, अभिनम गौतम, सौरव पुन, विपिश मल्ल, मविन्द्र पुन, किस्मत क्षेत्री र विपिन छन्त्याल छन् । 

नेपाली टोलीको प्रमुखमा एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन तथा व्यवस्थापकमा एन्जल्स हार्टका खेलकुद विभाग प्रमुख तिमल्सिना छन् । अस्ट्रेलिया आइपुगेका टोलीलाई नेपालमा तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका शिक्षा शाखा प्रमुख पदमबहादुर खत्री, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, तार्केश्वर नगरपालिका वडा १० का अध्यक्ष कुमार राई, मानसिंह डोजोका प्रमुख महेश महर्जनलगायतले विदाइ गरेका थिए । टोलीलाई अस्ट्रेलियामा नेपाली खेलप्रेमीले स्वागत गरेको दिलिप थापाले जानकारी दिए ।