देशकै राम्रो स्वास्थ्य संस्थामा गनिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पछिल्लो समय भइरहेका आन्दोलनका कारण अस्तव्यस्त बनिरहेको छ । बीपी प्रतिष्ठानमा उपचारका लागि कोशी प्रदेशका विभिन्न जिल्लाबाट र मधेस प्रदेशबाट पनि आउने गरेका छन् । आन्दोलनका कारण टाढाबाट आउने विरामी अलपत्र परेका छन् । निको हुने आशामा प्रतिष्ठान आइपुगेका उनीहरुको यहाँको उपचार सेवाप्रतिको आशा भरोसा त सकिने नै भयो, उनीहरुले आफ्ना ठाउँमा फैलाउने सन्देश पनि राम्रो हुँदैन पक्कै । यसबाट प्रतिष्ठानको साख झनै गिर्ने निश्चित छ । त्यसकारण जे जस्तो बहानामा भएको भए पनि लगातार भइरहेको आन्दोलनले प्रतिष्ठानलाई मात्र होइन, समग्र धरानलाई नै असर परिरहेको छ । धरानको यो महŒवपूर्ण संस्थालाई धरासायी बनाउन यस्ता आन्दोलनको भूमिका रहन्छ ।

निर्वाध रुपमा स्वास्थ्य उपचार पाउनु नागरिकको नैसर्गिक अधिकार नै हो । नागरिकको यो अधिकारलाई बेवास्ता गर्दै आन्दोलनका नाममा स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम ठप्प बनाउनु पनि जायज होइन । प्रतिष्ठानका कर्मचारी, शिक्षक, चिकित्सकका समस्या पक्कै छन्, समस्याविहीन कुन क्षेत्र नै छ र ? त्यो समस्या प्रतिष्ठान प्रशासन र राज्यले समाधान गर्न सक्छन् । उनीहरुका समाधान नहुनुमा बिरामी र तिनका आफन्तको हात छैन । तर, उनीहरुले सेवा बन्द गरेर बिरामी र आम नागरिकलाई दुःख दिइरहेका छन्, यो गलत हो । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा हड्ताल गर्नु आफैमा अपराध हो । त्यसकारण आन्दोलनका नाममा स्वास्थ्य सेवामा अवरोध पु¥याउने काम तुरून्त रोकिनु आवश्यक छ । आन्दोलनकारीको असन्तुष्टि अस्पताल प्रशासन र राज्यसँग हो कि बिरामीसँग ? प्रशासन र राज्यसँग उनीहरु लड्नु आवश्यक छ, बिरामीविरूद्ध होइन । स्वास्थ्यजस्तो संवेदनशील पेशा रोज्ने अनि सरकारको रिस बिरामीमाथि पोख्ने कार्य कुनै हालतमा नैतिक हुन सक्दैन । बिरामीलाई दुःख दिएर राज्यसँग आफ्ना माग पूरा गराउन खोज्नु र बच्चा अपहरण गरेर परिवारसँग फिरौती माग्नुमा खासै फरक हुँदैन । यस्तो अपराध स्वास्थ्यजस्तो संवेदनशील विषय अध्ययन गरेकाहरुले गर्न सुहाउँदैन । किनभने परम्परादेखि नै स्वास्थ्य सेवा हो, व्यापार होइन ।

प्रतिष्ठानका शिक्षक, कर्मचारीका माग जायज होलान्, उनीहरुले पनि समयानुकूल सुविधा पाउनु आवश्यक हो । त्यो पाउने पनि प्रक्रिया होला, नपाए कानूनको सहारा लिन सकिएला । तर, कानूनी बाटोमा नगई हड्तालमा उत्रिएर बिरामीलाई दुःख दिनुका अनेक कारण हुन सक्छन् । यस्तो हड्तालले निजी अस्पताललाई फाइदा पुग्ने निश्चित छ । कतिपय प्रतिष्ठानकै चिकित्सक निजीमा काम गरिरहेका पाइन्छन् । त्यसैले प्रतिष्ठानमा बारम्बार आन्दोलन हुनुलाई फरक कोणबाट पनि अध्ययन गरिनु आवश्यक छ । प्रतिष्ठानकै विभिन्न ठाउँमा स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा हड्ताल गर्नु अपराध हो भनेर लेखिएका ब्यानरहरु भेटिन्छन् । तर, यही प्रतिष्ठानमा बारम्बार आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रभावित बन्दा प्रतिष्ठान खस्किरहेको छ । धरानको नागरिक समाज, राजनीतिक दलहरुले पनि राजनीतिक आग्रह पूर्वाग्रह विना प्रतिष्ठानको समस्या के हो ? र किन बारम्बार हड्ताल गरेर सेवा अवरोध भइरहेको छ ? भन्ने विषयमा चासो देखाउनु आवश्यक छ । जेसुकै बहानामा भए पनि प्रतिष्ठानको स्वास्थ्य सेवा अवरूद्ध हुनु हुँदैन । यो आम नागरिकको नैसर्गिक अधिकार हो, कानूनले पनि प्रदान गरेको हक हो । यसलाई कसैले बन्देज लगाउनु हुँदैन ।