पाँचथर । पूर्वका चार जिल्लालाई छोटो दूरीमा जोड्ने रवि–राँके–भेडेटार सडक कालोपत्रेको काम सुस्त भएको छ । कालोपत्रेको काम सुस्त भएको भन्दै पाँचथरका सांसद् तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङसहित जनप्रतिनिधिको टोलीले अनुगमन र निरीक्षण गरेको छ । सम्झौता अवधि सकिएको २ वर्षमा पनि ४३ प्रतिशत मात्रै भौतिक प्रगति गरेको भन्दै नेम्वाङले राँकेदेखि भेडेटारसम्मको १ सय १ किलोमिटर सडक स्थलगतरूपमै अनुगमन गरेका हुन् । भारतीय ठेकेदार कम्पनीले समयमै कालोपत्रेको काम अघि नबढाउँदा चार जिल्लाका नागरिक मारमा परेका छन् ।

सो क्षेत्रका नागरिकको जनगुनासो बढेपछि निर्माण व्यवसायी, सडक आयोजना कार्यालयलाई नेम्वाङले सडकको कामलाई गति दिन निर्देशन दिएका हुन् । वर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका कारण नागरिकले सास्ती पाएको भन्दै भारतीय कम्पनीका ठेकेदार अभयकुमार मिश्र र सडक आयोजना प्रमुख दीपेश रजकलाई तत्काल गति बढाउन निर्देशन दिए । ‘म आफै सांसद्को पूर्वाधार विकास समितिमा छु । सडकको कामलाई प्रभावकारी बनाउन तीन दिन लगाएर पाँचथरको राँकेदेखि धनकुटाको भेडेटारसम्म अनुगमन ग¥यौँ’ उनले भने, ‘धनकुटाको क्षेत्रमा काम राम्रो गरे पनि पाँचथर क्षेत्रमा अपेक्षाकृत काम भएको छैन । वर्खाको समयअगावै पाँचथरको चिसापानीदेखि राँकेसम्मको सडकमा काम गर्न निर्देशन दिएको छु । भारतीय कम्पनीले काम गर्ने प्रतिबद्धता जनाएको छ ।’

सडकको हालसम्मको प्रगतिको विषयमा पूर्वाधार विकास समितिमा छलफल गरेर समिति सभापतिसहितको टोलीले अनुगमन गर्ने कि आफै अनुगमन गरी दबाव सिर्जना गर्ने ? भन्ने विषयमा छलफल गरी निष्कर्षमा पुग्ने नेम्वाङले बताए ।कालोपत्रेको काममा भएको ढिलाइबारे आयोजना प्रमुख दीपेश रजकले निर्माण कम्पनीले धनकुटा खण्डको ४० किलोमिटर सडकमा ग्राभेल, सडक कटिङ, नाली र वाल निर्माणको काम गर्दै आएको जनाए । धनकुटाको कुल ४५.५ किलोमिटर सडक–खण्डमा काम सन्तोषजनक भएको छ । त्यस्तै इलाम र पाँचथर खण्डको ५६ किलोमिटर सडकमध्ये ६ नम्बर बुधबारेबाट लेकगाउँसम्म बाटो सहज भएको भन्दै लेकगाउँदेखि राँकेसम्म सुस्त काम भएको जनाए । निर्माण कम्पनीको समय अवधि २०८१ भदौ १२ गतेसम्म भएकाले सो समयमा उल्लेख्य प्रगति गर्ने दाबी गरे । ‘नेपाल सरकारले सडक कालोपत्रे कन्सल्टेन्ट नियुक्त गरी निर्माण प्रक्रिया अघि बढाएको थियो’ रजकले भने, ‘४ वर्षको अवधिमा १६ प्रतिशत मात्र प्रगति भएपछि २०७९ सालमै कन्सल्टेन्टलाई हटाइयोे । त्यसपछिको १० महिनादेखि सडक विभागका प्राविधिकहरूबाट सञ्चालन हँुदै आएको छ । विभागले जिम्मा लिएको १० महिनामा थप २७ प्रतिशत प्रगति गरी ४३ प्रतिशत पुगेको हो । धनकुटा क्षेत्रको ४५ किलोमिटरमध्ये ४० किलोमिटरमा ग्राभेल भएको छ । अब पाँचथर खण्डमा पनि काम अघि बढ्छ ।’

यता भारतीय कम्पनीका निर्माण व्यवसायी अभयकुमार मिश्रले यसअघि साइट हेर्ने ठेकेदार हटाएर स्वयम् निर्माण कम्पनीले जिम्मा लिएकाले अब गति लिने बताए । उनले २०८१ को भदौसम्ममा धनकुटाक्षेत्रको ३० किलोमिटर सडक कालोपत्रे गर्ने र बाँकी राँकेसम्म वर्खाको समयमा सवारी साधन आवत–जावत गर्न सक्ने गरी काम अघि बढाउने दाबी गरे । भारतीय एक्जिम बैङ्कसँगको सहुलियतपूर्ण ऋण सहयोगमा २०७५ साल ९ पौष ३ गते भारतीय कम्पनी एप्को इन्फाटेक प्रा.लि.ले ठेक्का लिएको थियो ।

तीन वर्षमा कालोपत्रेको काम पूरा गर्ने लक्ष्य लिएको भारतीय कम्पनीको सम्झौता अवधि २०७८ पुस ९ गते सकियो । त्यसयता चौथो पटक थपेको म्याद पनि २०८१ भदौ १२ गते सकिँदै छ । ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५ सय ७२ रुपैयाँको लगानीमा १ सय १ किलोमिटर सडक कालोपत्रेको काम हुँदै आएको छ । दायाँ–बायाँ एक–एक मिटरको नालीसहित ९ मिटर सडक कालोपत्रे गर्नु पर्नेछ । निर्माणस्थलमा ३४ थान स्काभेटर, ६ सय श्रमिक र १ सय ८० कर्मचारी खटिएको छ । निर्धारित समयमै रवि–राँके–भेडेटार सडक ग्राभेल र स्ट्रक्चरको काम पूरा गर्ने निर्माण पक्षको दाबी छ ।

sadak rakenn