वैदेशिक रोजगारीको विषयलाई लिएर शुक्रबार ललितपुरको बालकुमारीमा झडपका क्रममा दुई युवाको मृत्यु भएपछि देशभर सरकारको विरोध भइरहेको छ । काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । सरकारले सुरक्षा त्रुटि भएको ठहर गर्दै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाएर डिएसपीसहित तीन जनालाई निलम्बन गरेको छ । त्यतिले मात्र आम नागरिकको आक्रोस थामिने अवस्था छैन । विभिन्न राजनीतिक दलहरुले सरकारको विरोध गरिरहेका छन् । चौतर्फी विरोध बढ्दै जाँदा सरकारले छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने तयारी गरेको छ । पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन आयोग बनाउने तयारी भए पनि आम नागरिक विश्वस्त हुन सकेको अवस्था छैन । विगतका ठूला घटनाहरुमा बन्ने छानबिन आयोगहरुले ठूलालाई चोख्याउने र साना कर्मचारीलाई कारबाही गर्ने सिफारिस गर्ने गरेकाले अबको आयोग पनि त्यस्तै नहोला भन्ने आधार के छ ? भन्ने प्रश्न सामाजिक सञ्जालमा छाएको छ ।

रोजगारीका लागि कोरिया जान चाहने युवाहरुको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाउनु प¥यो । वैदेशिक रोजगारीको टेकोले देशको अर्थतन्त्र धानिएको छ । यस्तो अवस्थामा विदेशमा रगत, पसिना बगाएर आफ्नो देशमा पठाउनेहरुलाई राज्यले सहज वातावरण बनाउनु पर्ने, उनीहरुलाई सम्मान गर्नुपर्ने बेलामा सरकारी संयन्त्रले अनेक झन्झट दिने गर्दै आएको छ । देशका लागि योगदान गर्नेहरुलाई राज्यले हेर्ने दृष्टिकोण नै गलत छ । वैदेशिक रोजगारीमा जानेहरुले कमाएको पैसाले पालिएको कर्मचारीतन्त्र र राजनीतिक दलका नेताहरुले उनीहरुलाई नै राम्रो व्यवहार गर्न नसक्नु दुःखद् हो । विदेश जाने बेलामा दलाल र सरकारी कर्मचारीलाई पैसा बुझाउनु पर्ने अनि फर्किंदा विमानस्थलदेखि ठाउँ–ठाउँमा उनीहरु नै लुटिने, ठगिने गरेका छन् । त्यसैले पनि वैदेशिक रोजगारीमा जाने र उनका परिवारहरुको सरकार र कर्मचारीतन्त्रप्रति वितृष्णा बढ्दो छ । यसैको लहर बढ्दै अहिले राजनीतिक दल र राज्य संयन्त्रप्रति नै आम नागरिक निराश छन् । आम नागरिकको निराशा कुनै पनि बेला विष्फोटक रुपमा प्रस्तुत हुन सक्छ । बालकुमारी घटनामा मन्त्रीको गाडीमा आगजनी त्यसैको सङ्केत भन्ने बुझ्न राज्यले ढिला गर्नु हुँदैन ।

देशमा भएका ठूला तस्करी, भ्रष्टाचारका घटनामा राजनीतिक दलका नेताहरु र कर्मचारीतन्त्र जोडिने गरेका ललिता निवास काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड होस् वा पटक–पटकका सुन तस्करी काण्डले पुष्टि गरिसकेका छन् । राजनीतिक दलका नेता र तिनका आसेपासेले मात्र अवसर पाउने तर, आम नागरिकले कष्ट धेरै पाउने प्रवृत्तिका कारणले नै नेताहरुमाथि आक्रमणका घटना बढिरहेका छन् । राज्यले देशमा रोजगारी सिर्जना गरेर युवाहरुलाई स्वदेशमा रोक्न सकेको छैन । पढ्ने बहानामा होस् या रोजगारीका लागि अधिकांश युवा विदेश छिर्न लालायित छन् । नयाँ पुस्ताले देशमा सम्भावना नदेख्नु, उनीहरुमा निराशा छाउनुले हाम्रा राजनीतिज्ञ र नीति निर्माताको असफलता प्रष्ट भइसकेको छ । दलका नेताहरुले घोषणा–पत्रमा मीठा कुरा लेखे पनि व्यवहारमा आफू, आफन्त र आफ्ना कार्यकर्ता केन्द्रित सोच त्याग्न नसक्नु अहिलेको परिस्थितिको कारक हो । अब यति कामना गर्न सकिन्छ, बालकुमारी घटनामा सरकारले बनाउने आयोगले निष्पक्ष छानबिन गरोस्, दोषीलाई कारबाही गरोस्, पीडितले न्याय पाएको महसुस गरुन् । फेरि पनि बालकुमारी घटना नदोहोरियोस् ।