बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित मनमोहन सामुदायिक अस्पतालमा एकपछि अर्काे सामान्य बिरामीको ज्यान जाने गरेको छ ।

केही महिनाअघि बिर्तामोडकी २५ वर्षीया महिलाको ज्यान गएपछि सो घटना सेलाउन नपाउँदै सोमबार बिर्तामोडकै अर्की ३५ वर्षीय नर्वदा बाँस्कोटा घिमिरेको उपचारको क्रममा मृत्यु भएको छ । अघिल्लो दिन घुँडा दुख्ने र सुन्निने समस्या देखापरेपछि सोमबार बिहान अटोरिक्सा चढेर सामान्य अवस्थामै अस्पताल आइपुगेकी नर्वदाको उपचारका क्रममा समस्या जटिल बन्दै केही घण्टामै निधन भएको छ ।

नर्वदाका आफन्त दुर्गा पाठकका अनुसार उनलाई इमरजेन्सीमा भर्ना गरिएको थियो । इमरजेन्सीमा भर्ना गरेको तीन घण्टासम्म पनि डाक्टरले चेकजाँच नगरेको पाठकको आरोप छ । अस्पतालमा कार्यरत नर्सहरूले दुखाइ कम गर्न इन्जेक्सन लगाएपछि उनलाई झन् समस्या भएको थियो ।

एक्कासि शरीर पोल्ने र दुख्ने भएपछि बिरामीका आफन्तले चिकित्सक बोलाइदिन आग्रह गरेका थिए । बिहान ८ बजे भर्ना भएकी बिरामीको अवस्था जटिल भएपछि ११ बजे मात्र चिकित्सकले चेकजाँच सुरु गरेका थिए । उनलाई डाक्टर सुवेश सौरभले जाँच गरेका थिए । बिरामीको अवस्था जटिल बन्दै गएपछि सुविधासम्पन्न अस्पतालमा रेफर दिन आग्रह गर्दासमेत अस्पतालले अटेर गरेको पीडितको आरोप छ ।

डाक्टरले बिरामीलाई समय नदिँदा अकालमा उनले ज्यान गुमाएको पीडित परिवारले बताएका छन् । बिरामीको मृत्यु भइसकेपछि कमजोरी ढाकछोप गर्न शवलाई आइसियुमा राखिएको छिमेकी सानुमाया श्रेष्ठले बताइन् ।

के कारणले बिरामीको मृत्यु भएको हो ? भन्नेसमेत आफन्तलाई जानकारी नदिई पहिले प्रयोग गरिएको डाक्टरको रिपोर्टसमेत परिवर्तन गरिएको आफन्तको आरोप छ । अस्पतालका डाक्टरको लापरबाहीका कारण घिमिरेको मृत्यु भएको भन्दै सोमबार साँझदेखि अस्पतालअगाडि स्थानीय र आफन्तले आन्दोलन गरिरहेका छन् । मङ्गलबार दिउँसो पूर्व–पश्चिम राजमार्गसमेत अवरोध गरेर पीडित परिवार र स्थानीयले आन्दोलन गरेका छन् ।

उनीहरूले मृतकका नाबालक छोराछोरीलाई न्याय दिनुपर्ने माग गरेका छन् । मङ्गलबार दिनभरजसो दुई पक्षबीच वार्ता हुँदासमेत कुनै निष्कर्ष निस्किएको छैन । मृतक नर्वदाको शव अहिलेसम्म आफन्तले बुझेका छैनन् । अस्पतालले उपचारमा कमजोरी भएको भनेर क्षमायाचना नगर्दा छलफल निष्कर्षमा नपुगेको आफन्तले आरोप लगाएका छन् ।

पटक–पटक मनमोहन अस्पतालको लापरबाहीका कारण ज्यान जाने अवस्थाको अन्त्य गर्न भन्दै स्थानीयले उपचारमा लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने, पीडित परिवारलाई राहत प्रदान गर्नुपर्ने र व्यवस्थापकीय पक्ष सुधार गर्नुपर्ने माग गरेका छन् । छलफलकै क्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रविन कोइरालाले पटक–पटक यस्ता घटना दोहोरिरहँदा अस्पतालको स्तर खस्कने हुँदा कि अस्पताल बन्द गरिनुपर्ने, कि कमजोरी कहाँ छ पत्ता लगाएर त्यसलाई निवारण गर्नुपर्ने बताएका छन् ।