पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा प्रहरीले गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा उच्च प्रोफाइलसहित १४ आतङ्ककारीलाई पक्राउ गरेको प्रहरीको आतङ्कवाद विरोधी विभाग (सिटिडी)ले जनाएको छ ।आतङ्ककारीहरू उपस्थित रहेको जासुसी सूचनाका आधारमा प्रान्तका आठ सहरमा गरिएको कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको सिटिडीले शनिबार एक विज्ञप्तिमा जनाएको छ । 

विभागले मुलुकभमा पाँच सय ८८ कारबाही सुरु गरेको र यस क्रममा २५ हजार मानिससँग सोधपुछ गरेको विज्ञप्तिमा उल्लेख छ । परेका आतङ्ककारीमा प्रतिबन्धित सङ्गठन तहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) का कमान्डर पनि रहेका छन् । उनलाई अनुसन्धानका लागि अज्ञात स्थानमा लगिएको छ । 

प्रहरीले पक्राउ परेका आतङ्ककारीबाट विस्फोटक सामग्री, हतियार, गोलाबारुद र हाते ग्रिनेड बरामद गरेको छ । सिटिडीका अनुसार टिटिपीका उच्च प्रोफाइल लक्ष्यहरूले प्रान्तीय राजधानी लाहोरमा संवेदनशील प्रतिष्ठानहरूमा आक्रमण गर्ने योजना बनाइरहेका थिए ।