नेपालको जाजरकोट र पश्चिम रुकुमका भूकम्प पिडितको सहयोगार्थ गैर–आवासीय नेपाली संघ (एनआरएनए) हङकङको नेतृत्वमा १८ लाख भन्दा बढी रकम संकलन भएको छ ।

एनआरएनए हङकङले सञ्चालन गरेको आर्थिक सहयोग अभियानमा हङकङ डलर एक लाख ७ हजार ९ सय ८७ संकलन भएको हो । यो नेपाली रुपैयाँ १८ लाख २७ हजार बराबरको रकम हो । कोषका लागि पुन मगर संघ हङकङ, हङकङ नेप्लिज माइनोरिटिज अर्गनाईजेसन, मगर एसोसिएसन हङकङ, सप्तरङ्गी महिला समूह हङकङ र केही चिनिया नागरिकले समेत सहयोग गरेका थिए । उक्त रकम एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को ‘एनआरएनए आकस्मिक कोष’मा जम्मा गरिएको एनआरएनए हङकङले शनिबार एक कार्यक्रमका बीच जानकारी गराएको छ ।

संघका प्रवक्ता विश्वनाथ घिसिङले यस अभियानमा जोडिने विभिन्न संघ संस्था र व्यक्तिहरुलाई विज्ञप्ती जारी गरेर धन्यवाद ज्ञापन गरेका छन् । उनका अनुसार एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले भूकम्प प्रभावित क्षेत्रमा तत्काल ५३ लाख रुपैयाँको राहत सामग्रीका लागि र १० लाख प्रधानमन्त्री कोषमा दिईसकेको जानकारी दिएका छन् ।

संघले आगामी दिनमा एकद्वार प्रणाली मार्फत राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सहयोग गर्ने नीति लिएको छ ।