नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले टर्कीले स्वीडेनको सदस्यताका लागि रोकिएको प्रस्तावलाई यथाशीघ्र अनुमोदन गर्नुपर्ने बताएका छन्। उनले भने “स्वीडेनले आफूले गरेको वाचा पूरा गरेको छ र अब टर्कीले सामेल प्रक्रियालाई अन्तिम रूप दिने समय आएको छ ।”

टर्की र हङ्गेरी नेटोका एक मात्र सदस्य राष्ट्र हुन्, जसले सदस्यताका लागि आवेदन दिएको १८ महिनाभन्दा बढी भइसक्दा पनि स्वीडेनलाई गठबन्धनमा सामेल हुन अनुमोदन गरेका छैनन्।टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले जुलाईमा नेटो शिखर सम्मेलनमा भएको सम्झौतापछि प्रक्रिया सुरु गरेपछि टर्कीको संसदले स्वीडेनको सदस्यताको प्रयासमाथि बहस गर्न यसै महिना सुरु गरेको थियो । 

नेटोका अन्य २९ सहयोगी राष्ट्रले यसै साता ब्रसेल्समा भएको विदेशमन्त्रीहरूको बैठकमा स्वीडेनलाई औपचारिक रूपमा गठबन्धनमा स्वागत गर्न सक्षम हुने विश्वास गरेका थियो। तर यो प्रक्रिया अझै पनि टर्कीको संसदको समिति स्तरमा छ । “म अनुमोदन प्रक्रियामा थप गति हेर्न चाहन्छु, यो कुनै रहस्य होइन”, स्टोल्टेनबर्गले भने “यसका लागि मैले धेरै पटक संवाद गरेको छु, म चाहन्छु उनीहरूले यसलाई अन्तिम रूप दिऊन् ।”

अर्को एक प्रसङ्गमा उनले युक्रेनले अझै पनि रूसलाई ठूलो क्षति पुर्‍याइरहेको बताएका छन्। स्टोल्टेनबर्गले भने, “निःसन्देह हामी चाहन्छौं उनीहरूले जतिसक्दो चाँडो धेरै भूभाग लाई मुक्त गरुन्, तर फ्रन्टलाइन नहटे पनि युक्रेनीहरूले रूसी आक्रमणकारीहरूलाई ठूलो क्षति पु¥याउन सक्षम भएका छन् ।