चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताएका छन् । आगामी साता सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर सम्मेलन हुनुभन्दा अघि उनको यस्तो धारणा आएको हो । 

सिङ्गापुरमा ब्लुमबर्ग न्यु इकोनमी फोरममा उपराष्ट्रपति झेङले बेइजिङ र वासिङ्टनबीच हालैको उच्चस्तरीय बैठकहरूले सम्बन्धमा सुधार भइरहेको ‘सकारात्मक सङ्केत’ दिएको बताएका छन्। “हामी सबै तहमा अमेरिकासँग सञ्चार र संवादलाई सदृढ बनाउन,पारस्परिकरूपमा लाभदायक सहयोगलाई अघि बढाउन, मतभिन्नताहरूलाई उचितरूपमा व्यवस्थापन गर्न र संयुक्तरूपमा वैश्विक चुनौतीहरूको समाधान गर्न तयार छौँ”, उनले भने 

निर्यात नियन्त्रण, मानवअधिकार र राष्ट्रिय सुरक्षालगायत थुप्रै मुद्दामा वासिङ्टन र बेइजिङबीचको सम्बन्ध हालैका वर्षमा उनीहरूको सबैभन्दा निम्तस्तरमा पुगेको छ। तर दुवै पक्ष कुराहरू मिलाउन इच्छुक रहेको देखिन्छ। वासिङ्टनले सञ्चारलाई सुदृढ बनाउन यसै वर्ष थुप्रै शीर्ष अधिकारीहरूलाई बेइजिङ पठाएको छ ।