बङ्गलादेशले आफ्ना ४० लाख गार्मेन्ट कामदारको न्यूनतम मासिक ज्यालामा मङ्गलबार ५६.२५ प्रतिशतले वृद्धि गरेको छ। सरकारी निर्णयप्रति मजदूर यूनियनले तत्काल विमति राख्दै विद्यमान ज्यालामा तेब्बर वृद्धि गर्नुपर्ने पूर्ववत् अडान कायम रहेको बताएको छ ।  

“गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने कामदारहरूको नयाँ न्यूनतम मासिक ज्याला १२ हजार ५ सय टाका (११३ अमेरिकी डलर) निर्धारण गरिएको छ,” सरकारले नियुक्त गरेको न्यूनतम ज्याला निर्धारण समितिका सचिव राइशा अफरोजले एएफपीसँग बताएका छन् ।

बङ्गलादेशका करिब तीन हजार ५ सय गार्मेन्ट कारखानाहरूले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगटेका छन् । लेभिज, जारा र एच एन्ड एमलगायत फेसन ब्राण्डमा विश्वभर तयारी पोशाक आपूर्ति गर्दछ। तर, यस क्षेत्रका ४० लाख कामदारमध्ये अधिकांशको अवस्था दयनीय छ ।