इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अफगान कामचलाउ सरकारका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरले आइतबार द्विपक्षीय सहयोगलाई बढाउने आवश्यकतामाथि जोड दिएका छन् । 

इरानको राजधानी तेहरानमा भएको बैठकमा दुवै पक्षले द्विपक्षीय सम्बन्ध र साझा हितका क्षेत्रीय विषयमा विचारविमर्श गर्नुभएको इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।अब्दुल्लाहियानले अर्थतन्त्र, व्यापार, उद्योग र आधुनिक प्रविधिको क्षेत्रमा अफगानिस्तानसँगको सम्बन्धमा सुधार गर्न र असहज परिस्थितिमा सहयोग गर्न इरान तत्पर रहेको बताएका छन् ।

बरादरले इरानसँग सहयोगको विस्तारमा आफ्नो सरकारले जानेरै छनोट गरेको बताए। अफगानिस्तान इरानको पारवहन मार्गमार्फत अन्तर्राष्ट्रिय व्यापार सम्बन्धलाई विकास गर्न र निर्यातका लागि दक्षिणपूर्वी इरानका बन्दरगाहको प्रयोग गर्न इच्छुक रहेको उनको भनाइ थियो ।

दुवै मुलुकले गाजा र पश्चिम किनारमा प्यालेस्टिनीहरूविरुद्ध इजराइली ‘अपराध’ को निन्दा गरेका छन् । बैठकमा इरानमा अफगान शरणाथीहरूसँग सम्बन्धित विषय र लागु औषध ओसारपसारविरुद्धको सहकार्यका बारेमा पनि छलफल भएको इरानको विदेश मन्त्रालयले बताएको छ ।