धरान । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबैसँग सहकार्य गरेर प्रदेश सरकार विस्तार गर्ने बताएका छन् ।

आइतबार झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटनको क्रममा उनले सबैसँग सहकार्य गरेर मन्त्रीमण्डल विस्तार गर्ने योजना बनाएकाले केही ढिलाइ भएको बताए । एमालेको मुख्य सहकार्यमा मुख्यमन्त्री बनेका उनले हाल मन्त्रीमण्डल विस्तार गर्न ढिलाइ गरिरहेका छन् । यस विषयमा उनले भने, ‘सबैको सहकार्यमा मन्त्रीमण्डल विस्तार गर्ने योजना छ ।’ उनी एमाले र गठबन्धनको चेपुवामा परेका छन् । उनले साझा परिवारको रूपमा प्रदेश सरकार विस्तार गर्न लागेको बताए । उनले प्रदेश सरकार बलियो बनाउनेतर्फ आफ्नो ध्यान रहेको बताए ।

यसैबीच नेपाली काङ्ग्रेस झापाले आइतबार नै बिर्तामोड आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा पनि उनले पार्टीभित्र आन्तरिक विद्रोह गरी मुख्यमन्त्री बनेको रूपमा नबुझ्नका लागि आग्रह गरे । उनले संविधान प्रदत्त अधिकारलाई उपयोग गरी आफू मुख्यमन्त्री बनेको दाबी गरे । ‘सांसद्लाई प्राप्त संविधान प्रदत्त अधिकारको उपयोग गरी म मुख्यमन्त्री बनेको हुँ’ उनले भने, ‘यसलाई पार्टीभित्र आन्तरिक विद्रोहको रूपमा नबुझ्न आग्रह गर्दछु ।’ उनी नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका हुन् ।

उक्त व्यवस्थाअनुसार प्रदेशमा रहेका जो सुकै सांसद्ले पनि आफ्नो बहुमत पुग्छ भनी मुख्यमन्त्री दाबी गरेको अवस्थामा प्रदेश प्रमुखले मुख्यमन्त्री बनाउन सक्ने प्रावधान छ । उनले सोही अधिकारलाई आफूले सदुपयोग गरेको दाबी गरे । उनले यसलाई अन्यथाका रूपमा नबुझ्नका लागि आग्रह गरे । उनले आफू पार्टीको नीति, सिद्धान्त र विचारभन्दा बाहिर रहेर काम नगर्ने पनि बताए । उनले पार्टीको हित विपरीत आफूले कुनै पनि कार्य नगर्ने पनि बताए । उनले आफूले मुख्यमन्त्री पाउनुलाई गौरवपूर्ण क्षणको रूपमा सबैले लिनुपर्ने बताए ।