इजराइल–हमासबीच जारी युद्धका बीच आतङ्कवादी समूह हमासले मङ्गलबार थप दुई बन्धकलाई रिहा गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । रिहा हुनेमा नुरिट कुपर र योचेभेद लिफ्शिट्ज रहेका छन् ।

समाचारअनुसार मुक्त भएका दुई बन्धकलाई लिएर एउटा सैन्य हेलिकप्टर तेल अविवमा इचिलोभ अस्पतालको छतमा अवतरण भएको थियो । अस्पतालका एक नर्सलाई उद्धृत गर्दै दि टाइम्स अफ इजराइलले गाजामा हमासको कैदबाट रिहा भएपछि सिधै इजराइली मेडिकल सेन्टरमा पुगेपछि दुवैको स्वास्थ्य राम्रो देखिएको जनाएको छ ।

नर्सका अनुसार दुवै बन्धकको आफ्ना परिवारसँग भावनात्मक पुनर्मिलन भयो । मुक्त भएका दुवै बन्धकले औषधि लिइरहेका थिए तर उनीहरूले दुई साता कैदमा प्राप्त नगरेको हुन सक्छ ।

यसअघि हमासको कासम ब्रिगेडले एउटा भिडियो जारी गरेको थियो जसमा दुई बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रसका सदस्यहरूलाई सुम्पिँदै गरेको देखाइएको थियो । भिडियोमा दुई महिला नकाब लगाएका बन्दुकधारीहरूको हात पकडेर अस्थिररूपमा हिँडिरहेको देखिन्छ । ती नकाबधारीहरूले उनीहरूलाई नास्ता र पेय पदार्थ पनि दिइरहेका हुन्छन् ।
दि टाइम्स अफ इजराइलका अनुसार भिडियो फुटेजमा दुवै महिला डराएको देखिन्छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनले ती बन्धकको रिहाईको स्वागत गरेको र बाँकी बन्धकहरूको रिहाइका लागि काम जारी राखेको सामाजिक सञ्जाल एक्समा बताउनुभएको छ । अझै दुई सय जना बन्धक रहेको बताइएको छ ।
सीएनएनका अनुसार यसअघि हमासले दुई अमेरिकी बन्धकलाई रिहा गरेको थियो । सिकागो बासिन्दा जुडिथ ताई रानन र उनकी १७ वर्षीया छोरी नताली राननलाई हमासले मुक्त गरेको बताइएको छ ।